कीर्तिमानको चाङबिच मधेशले गण्डकी प्रदेशलाई दियो ३३६ रनको विशाल लक्ष्य

Posted on: 25 Jan, 2024

माघ ११, काठमाडौँ | आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेशप्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेशप्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल पनि हो ।


यसअघि मधेशप्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले तीनपटक मात्र तीन सय वा त्योभन्दा बढी रन बनाउन सकेका छन् । त्यसमध्ये दुईपटक त मधेशप्रदेशले नै यस्तो उपलब्धि हासिल गरेको छ । यसअघि मधेशप्रदेशले सुदूरपश्चिमविरुद्धको खेलमा पनि नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो ।

गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अनिलले एक सय २७ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका अनिलले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि हिर्काए । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

यसअघि एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी सुदूरपश्चिम प्रदेशका नरेन भट्ट थिए । नरेनले मधेशप्रदेशविरु द्धकै खेलमा एक सय २१ रन बनाएका थिए । बिहीबारको खेलमा मधेशप्रदेशका अनिलले नरेनलाई नै पछि पारेका हुन् । जारि प्रतियोगितामा हालसम्म आठजना खेलाडीले शतक प्रहार गरिसकेका छन् ।

अनिल जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि पहिलो स्थानमा छन् । उनले हालसम्म आठ खेलखेलेर ४६.२५ को औसतले कुल तीन सय ७० रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा बागमती प्रदेशका आशुतो ष घिरैया दोस्रो स्थानमा छन् । उनले आठ खेलमा ४६ को औसतले कुल तीन सय ६८ रन बनाएका छन् ।

गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि अनिलका अतिरिक्त अरनिको यादबले पनि अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अरनिकोले केवल ३४ बलको सामना गरी तीन छक्का र पाँच पनि हिर्काए ।

पवन सर्राफले पनि टोलीका लागि ४० रनको योगदान गरे । चौथो नम्बरका ब्याट्सम्यान पवनले ३८ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रुपेशसिंहले २३ रन जोडे । उनले ३५ बलमा तीन चौका हिर्काए ।

मयान यादबले पनि टोलीको खातामा २७ रन थपे । उनले ४४ बलमा दुई चौका प्रहार गरे । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित २७ रन थपे । उनले केवल १९ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाह दुई रनमै पेभेलियन फर्किएका थिए । मधेशप्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सन्दीप पराजुलीले दुई विकेट लिए । कृष्ण पौडेल र कमल परियारले पनि एक–एक विकेट हात पारे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!