रमितलाई प्रश्न- केपी ओलीलाई कति पारिश्रमिक दिएर खेलाउँदै हुनुहुन्छ ?

Posted on: 29 Jan, 2024

माघ १५, काठमाडौँ | पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब कलाकारका रुपमा सिनेमाको पर्दा देखिने भएका छन् । रमित ढुंगानाले निर्देशन गर्ने फिल्म ‘नमेटिने घाउ’ मा उनले डेब्यू गर्ने घोषणा हिजो एक कार्यक्रममा गरिएको थियो ।

फिल्म घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा ओली स्वयम् उपस्थित थिए । यही फिल्मबाट नयाँ पुस्ताका चर्चित राजनीतिकर्मी ज्ञानेन्द्र शाहीले पनि सिल्भर स्क्रिनमा हाम्फाल्ने तयारी गरेका छन् । चलचित्रमा ओली एक प्रधानमन्त्रीको भूमिकामा र शाही एक अभियन्ताको भूमिकामा देखिने निर्माण स्रोतले बताएको छ ।
हिजो पत्रकार सम्मेलनपछि ओलीले सामाजिक सञ्जालमार्फत पनि आफूले फिल्ममा अभिनय गर्न लागेको पुष्टि गरे । एसिड पीडितको कथामा बन्न लागेको चलचित्रमा प्रधानमन्त्रीको भूमिकाका लागि अफर आएपछि आफूले स्वीकारेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री ओलीले फिल्ममा अभिनय गर्ने कुरालाई लिएर सामाजिक सञ्जालमा धेरैले ट्रोल गरिरहेका छन् । समर्थकहरु चाहिँ ‘बहुआयामिक’ नेतालाई चलचित्रको पर्दामा हेर्न पाउने भनेर उत्साहित पनि देखिन्छन् । कतिपयलाई यो पनि चासो छ कि आखिर ओली यो उमेरमा अचानक फिल्म खेल्नका लागि कसरी राजी भए ?
यही प्रश्न हामीले फिल्म निर्माता तथा निर्देशक रमित ढुंगानालाई सोध्यौं । एउटा पूर्वप्रधानमन्त्रीलाई फिल्म खेलाउने सोच कसरी आयो ? उनले कथाले नै ओलीको डिमान्ड गरेको बताए ।
रमितले धेरै वर्षअगाडि ‘बुद्ध बर्न इन नेपाल’ नामक फिल्म निर्माण गरेका थिए । त्यसताका रमितको नेपाली चलचित्र उद्योगमा रामै जगजगी थियो । उनी सर्वाधिक व्यस्त हिरोमा पर्थे । भगवान गौतम बुद्ध आफ्नो देशमा जन्मिएको भनेर भारतले संसारभर फैलाएको भ्रम चिर्ने उद्देश्यले उनले यो चलचित्र आफैंले निर्माण गर्ने घोषणा गरे । चलचित्रको घोषणापछि त्यसबेला ओली आफैंले भेट्न बोलाएको रमित सम्झिन्छन् ।
‘उहाँ आफैंले बोलाएपछि निवासमा पुगेर भेटेको थिएँ । राम्रो विषयवस्तुमा फिल्म बनाउन लागेको भनेर खुशी व्यक्त गर्नुभयो । सो चलचित्रको शुभमुहुर्त उहाँबाटै गराएँ । त्यसयता उहाँसित मेरो आत्मीय सम्बन्ध रहेको छ’, ढुंगानाले सुनाए ।
अहिले एसिड पीडितहरुको कथामा फिल्म बनाउने सोच आएपछि उनी फेरि ओलीलाई भेट्न पुगे । खासमा यो चलचित्रले केही एसिड पीडितहरुको वास्तविक कथामाथि आधारित छ । ओली सरकारको पालामा एसिड पिडितलाई सम्वोधन गर्ने कानुन समेत निर्माण भएको थियो । यो सन्दर्भ पनि चलचित्रमा समेटिएको छ ।
ढुंगानाले आफ्नो प्रोजेक्टका बारेमा ओलीलाई व्रिफ गर्दै ‘साहसिक’ रुपमा प्रस्ताव राखे, ‘प्रधानमन्त्री भूमिकामा यहाँ आफैंले अभिनय गरिदिनुपर्यो ।’
ढुंगानाले डराइ-डराइ राखेको प्रस्तावलाई ओलीले धेरै असहज रुपमा भने लिएनन् ।
उनले मुसुमुसु हाँस्दै भने, ‘म कलाकार बन्ने ?’
त्यसबेला ओलीले स्वीकृति वा अस्वीकृतिको कुनै संकेत नगरेको ढुंगाना बताउँछन् ।
‘हुन्छ पनि भन्नुभएन, हुन्न पनि भन्नुभएछ’, उनले सुनाए, ‘मैले धेरै निखारेर सोध्न पनि सकिनँ ।’
जे भए पनि चलचित्रको शुभमुहुर्तमा सहभागी हुन ओली तयार भए । उक्त कार्यक्रममा नै ओलीले आफूले फिल्म खेल्ने ग्रीन सिग्नल दिएको ढुंगानाको भनाइ छ ।
ओलीले चलचित्रको स्क्रिप्ट भने पढेका छैनन् । ढुंगानाले उनलाई भूमिकाबारे सामान्य अवगत गराएका छन् । ओलीको भूमिका सुटिङ गर्न एक दिनभरि लाग्न सक्ने ढुंगानाको आँकलन छ । पर्दामा ओली करिब ४-५ मिनेट देखिने छन् ।
पूर्वप्रधानमन्त्रीलाई निर्देशन गर्न कत्तिको डर लगेको छ ? भन्ने प्रश्नमा रमितले भने, ‘उहाँ सरल र रसिक स्वभावको हुनुहुन्छ । गाह्रो होला भन्ने लाग्दैन ।’
ओलीको सुटिङ कहिले हुन्छ भन्ने निधो भइसकेको छैन । सिंहदरबार र बालुवाटारका दृष्यहरु देखाउन सेट लगाउने तयारी भइरहेको रमितले जानकारी दिए ।
चलचित्रमा खेल्ने भनेपछि पारिश्रमिकको पनि कुरा आउँछ । उहाँलाई कति पारिश्रमिक दिएर खेलाउँदै हुनुहुन्छ ? भन्ने ठट्यौलो प्रश्नमा रमितले यसबारे कुराकानी नभएको बताए ।
‘उहाँ हामी सबैको अभिभावकजस्तो मान्छे हो । व्यवसायीक कलाकार होइन । एउटा संवेदनशील सामाजिक मुद्दामा बन्न लागेको फिल्मलाई हौसला दिनका लागि हाम्रो प्रस्ताव स्वीकार गर्नुभएको हो । उहाँसित पारिश्रमिकको कुरा मैले कसरी गर्नु ?’, रमितले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!