खुला छाडेको ग्यासगिजरका कारण निसास्सिएर हेटौँडामा एक युवकको मृत्यु

Posted on: 29 Jan, 2024

माघ १५, काठमाडौँ | मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो।

बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए। बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यासगिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!