बंगलादेशविरुद्ध ओपनर विपीन दुई रन जोडेर आउट

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले विपीन रावललाई पहिलो विकेटको रूपमा गुमाएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले ३.५ ओभरमा विपीनलाई व्यक्तिगत दुई रनमा गुमाएको हो । हाल नेपालबाट क्रिजमा अर्जुन कुमाल र आकाश त्रिपाठी क्रमशः १० र शून्य रनमा खेलिरहेका छन् ।


जारी खेलको चार ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २० रन बनाएको छ । 

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । 

यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!