प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार आठौँ जित, लुम्बिनीलाई १०३ रनले हरायो

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई एक सय तीन रनको विशाल अन्तरले हराएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रन बनाएको थियो ।


जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले ३६.३ ओभरमा अलआउट हुनुअघि एक सय ४२ रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले उक्त खेल ३८–३८ ओभरमा झारिएको थियो ।

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको पुलिस क्लब सबै खेलमा विजयी भएको छ । पुलिस क्लब यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने पुलिस एकमात्र टोली हो ।

नवौँ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो आठौँ हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । लुम्बिनी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पुलिस क्लबले दिएको ठूलो विजयलक्ष्य पछ्याएको लुम्बिनी प्रदेशका लागि दिलसाद अलीले सर्वाधिक ३६ रन बनाए ।

नर सार्कीले ३१ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा १४ रन पाएको थियो । पुलिस क्लबका बलर कुशल भुर्तेलले तीन र करण केसीले दुई विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान, आरिफ शेख र रोशन बुढालले एक–एक पनि विकेट लिएका थिए ।

त्यसअघि पुलिसका लागि कप्तान आरिफ शेख, कुशल भुर्तेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफले ७६ रन बनाएका थिए । उनले ७६ बलमा तीन छक्का र नौ चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान कुशलले टोलीको खातामा ४८ रन थपे । उनले ४२ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान करणले अर्धशतकीय पाली खेले । आठौँ नम्बरमा क्रिज समाल्न आएका करणले ५७ रन बनाए । निकै आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल २७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि २४ रन जोडे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि १८ बलमा पाँच चौका प्रहार गरे । ओपनर दिलिप नाथ दुई रनमै आउट भए । रासिद खानले टोलीको खातामा १२ रन थपे । प्रेम तामाङ पाँच रन बनाउँदै आउट भए । रोशन बुढालले १० रन बनाए । ललित राजवंशी दुई रनमा अविजित रहे । पुलिसले नौ अतिरिक्त रन पायो ।

लुम्बिनी प्रदेशका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले आठ ओभरमा ७७ रन खर्चिए । बीर मगरले पनि तीन विकेट हात पारे । कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!