विमानस्थलमा कुटपिट प्रकरण : असई तामाङलाई निलम्बन, डीएसपीलाई सचेत सिफारिस

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ । प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितिले सो सिफारिस गरेको हो ।

घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको छ । यस्तै, विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमान्ड’ गरेका डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन समितिको सिफारिस छ । उनले आफू मातहतका प्रहरी कर्मचारीलाई कुशलतापूर्वक कमान्ड गर्न नसकेको समितिको निष्कर्ष छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा हाल डीआईजी अर्जुनचन्द ठकुरी छन् । घटना भएको दिन उनी बिदामा थिए । उनीपछिका एसएसपी र एसपी ‘मिटिङ’लगायत कामका सिलसिलामा कार्यालयभन्दा बाहिर थिए । त्यसैले डीएसपी पोखरेलले कमान्ड गरेका थिए ।

प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको छ ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार (हिजो) गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । गएको शुक्रबार गृहले गठन गरेको समितिमा डीआईजी राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!