बालकुमारी घटनाः मन्त्री ज्वालाले दिए बयान

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौँ | दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । मन्त्री ज्वालाले केही दिनअघि आयोगमा आएर बयान दिएका हुन् । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका थियो । आन्दोलनका बेला सुरक्षा संवेदनशीलतालाई समेत ख्याल नगरी मन्त्री ज्वालाले सोही बाटो प्रयोग गर्दा भीड उत्तेजित बनेको थियो । सो क्रममा आन्दोलनकारीहरुले मन्त्री ज्वाला सवार गाडीसमेत जलाएका थिए ।

उक्त घटना घट्नुमा मन्त्री ज्वालाले उत्प्रेरक भूमिका निर्वाह गरेको आरोप लागेको थियो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री ज्वाला पुगेपछि घटनाले उग्र रुप लिएको जवाफ दिएका थिए ।

सरकारले उक्त घटनाको छानविनका लागि उच्च अदालत पाटनका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!