प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा एक करोड रुपैँयाको श्रमिक राहत कोष स्थापना

Posted on: 11 Feb, 2024

माघ २५, काठमाडौँ | प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ । 

मञ्चको पन्ध्रौँ बैठकले उक्त कोष सञ्चालनको लागि एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न लागि कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेबिया), शालिग्राम पन्त (बहराइन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेको समिति गठन गरेको छ । 

मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा फरबरीको १० र ११ गते मलेसियाको राजधानी कोललमपुरमा भएको १५ औँ बैठकले सो निर्णय गरेको हो  । बैठकले प्रवासी नेपालीलाई समस्या पर्दा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक/एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकले प्रवासी नेपाली मञ्च मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदा औद्योगिक दुर्घटना लगायत विविध कारणले मृत्युवरण गर्नुभएका श्रमिक नेपालीको मृत शरीरलाई निःशुल्क हवाई टिकटको व्यवस्था गरी नेपाल पठाउने, विविध कारणले अलपत्र परेका श्रमिक नेपालीहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल उद्धार गरिदिने, उपचार खर्चको अभावले पीडामा परेका श्रमिक नेपालीहरूलाई औषधोपचारको व्यवस्था गरिदिने, श्रमसम्बन्धी विविध कानुनी अप्ठ्यारोमा पर्नुभएका श्रमिक नेपालीहरूलाई निःशुल्क कानुनी सेवाको व्यवस्था गरिदिने लगायतका मानवीय कल्याणकारी सेवा प्रदान गर्दै आएकोमा प्रवासी नेपाली मञ्च मलेसियालाई धन्यवाद दिएको छ ।

बैठकले नेपालको संविधान २०७२ अनुसार गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन जारी भई नागरिकता वितरणको कामहरू भइरहेको सन्दर्भमा नेपाल सरकारले उक्त नागरिकता वितरणको लागि आवश्यक नियम, कानुन र कार्यविधिहरू बनाउन नसक्दा अस्पष्टता र अन्यौलता सृजना भई प्रवासी नेपालीले पीडा भोगिरहेको, गैरआवासीय नेपाली नागरिकतावाहकले नेपाल जाँदा भिसा लिनुपर्ने स्थिति बनेको, र गैरआवासीय नेपाली नागरिकतामा गरिएको नागरिक हकको सिमाबन्दिले नेपालीको जन्मसिद्ध अधिकारलाई नै कुण्ठित गरेको हुँदा नेपाली नागरिकताको निरन्तरता हुने गरी गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको  छ ।       

त्यस्तै प्रवासमा बसेका बालिग मताधिकार प्राप्त नेपालीहरूका लागि नेपालको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मतदान गर्न नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोग मार्फत वा इन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रमाणित मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कूटनीतिक नियोगमा प्रत्यक्ष वा विद्युतीय मतदान यन्त्रको माध्यमबाट मतदान गर्न पाउने गरी व्यवस्था गर्न बैठकले नेपाल सरकारसँग माग गरेको छ । 

बैठकले युद्धग्रस्त युक्रेन र रुसको सेनामा विभिन्न कारणले भर्ना भई जीवन जोखिममा पर्न गएका नेपाली युवाहरूको जीवन रक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न र नेपालमा उद्धार गर्न नेपाल सरकारसँग माग गरेको छ । 

मध्यपूर्वमा इजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धका कारण मृत्युवरमा पर्नुभएका नेपाली युवाहरूका पीडित परिवारलाई आर्थिक राहत स्वरूप जनही १ लाख ४० हजार र चार जना घाइतेलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैँयाका दरले दरले मञ्चले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म बेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको छ । 

गैरआवासीय नेपाली संघको प्रचलित विधान अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन गत १९ अक्टोबर २०२३ मा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएर विधिपूर्वक काम गरिरहेकोमा, नेपाल सरकारले उक्त कार्यसमितिलाई नेपालको परराष्ट्र मन्त्रालयमा अद्यावधिक गरिनुपर्नेमा कानुनी व्यवस्था बमोजिम नवीकरण नगरी विभिन्न बहानाबाजीमा आलटाल गरिरहेको जनाउँदै बैठकले बिना कुनै पूर्वाग्रह अविलम्ब सो समितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा नवीकरण गर्न बैठकले माग गरेको छ । 

नेपालको वर्तमान सरकार महँगी, भ्रष्टाचार, अनियमितता, तस्करी, हत्याहिंसा र कुशासनमा चुर्लुम्म डुबेकोले नेपालको अर्थतन्त्र दुरावस्थामा पुगेको बैठकले निष्कर्ष निकालेको छ । जसको परिणामस्वरुप नेपाली युवा शक्ति बिदेसिन बाध्य भएको बैठकको निष्कर्ष छ ।

सरकारले नेपाललाई विदेशी शक्तिहरूको क्रिडास्थल बनाई नेपालको सार्वभौमिकताको रक्षामा समेत खलल पुग्ने गरी गम्भीर परिस्थिति खडा गरेको बैठकको निचोड छ । नेपालको विकास निर्माणका कामहरूलाई अलपत्र पारी देश विकासको गतिलाई ठप्प बनाइएको परिस्थितिमा समृद्ध नेपाल, सुखी नेपालीको एउटै मात्र सङ्कल्प बोकेका नेपाली जनताको भावनालाई कदर गर्दै सोही अनुरूप काम गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!