रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजानपछि लिभिङ टुगेदर, विवाह गर्न दवाव दिएपछि हत्या

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाई २७ माघमा मृत फेला परिन् । २८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ घर भएर श्रीमानसँग भिमसेन गोलामा बस्थिन् ।

लजको १०८ नम्बर कोठामा बोलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले दोलखाको बैत्यश्वर गाउँपलिका–७ घर काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय श्रेष्ठले होटलमा विवाद भएपछि डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपीले बताए ।


प्रमिला र कुमार ‘लिभिङ रिलेसन’ मा थिए ।  माघ २४ र २६ मा कुमारले प्रमिलालाई सो लजमा बोलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, उनले कोठा बुक गर्दा सन्दिप लामाको नाममा बुक गरेको भेटिएको छ । प्रमिलाले कुमारलाई ‘सँधै बाहिर बसेर हुँदैन, विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि प्रेम सम्बन्ध हत्यामा अन्त्य भएको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । पछिल्लो १ वर्षदेखि प्रमिला र कुमार ‘लिभिङ रिलेसन’मा थिए ।

दोलखाबाट प्रशारण हुने हिमाली एफएमको कार्यक्रम ‘मेरो साथी’ मार्फत उनीहरुको बिचमा चिनजान हुन्छ । फोन नम्बर पनि उनीहरुले रेडियो कार्यक्रम मार्फत नै आदान प्रदान गरेका हुन् । प्रमिला र कुमार दुवै विवाहित हुन् । दुवैतिर बालबच्चा भएका उनीहरु ‘विवाहेत्तर सम्बन्ध’ को कारण सँगै बस्न भनेर लोकन्थलीमा डेरा पनि लिएको अनुसन्धानबाट थाहा भएको छ । कुमारकी छोरी बुद्धनगरमा बस्छिन् ।

‘विवाह गर्नुपर्छ’ भन्ने प्रमिलाको दवाबले कुमार तनावमा थिए । २४ माघमा लजमा गएर बसेका कुमारले २६ मा पनि त्यहि लजमा बोलाएका हुन् । त्यसदिन साँझ ६ बजेर १८ मिनेटमा उनीहरु लजमा गएको देखिएको छ ।

लजमा केहीबेर बसेपछि प्रमिला निस्कन खोजिन् । तर, कुमारले उनलाई रोक्न खोजेपछि प्रमिलाले ‘विवाहको कुरा’ गरिरहिन् । ढोका खोलेर निस्कन खोज्दा कपडामा तानेर प्रमिलालाई झापड हानेको कुमारले प्रहरीलाई बताएका छन् । झापड हानेपछि प्रमिला ढलिन् । अनि, चिच्याउने र हल्ला गर्ने गरेर कुमारले घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यापछि भागेका कुमारलाई बुद्धनगरको लक्ष्मीचोकबाट पक्राउ गरिएको एसएसपी खत्रीले जानकारी दिए ।

प्रेम–विवाद प्रहरीमा छलफल

प्रमिला र कुमारको सम्बन्धबारे शंका लागेपछि प्रमिलाका पति नशे दमाईले प्रहरीमा उजुरी गरेको भेटिएको छ । रामेछापको ईलाका प्रहरी कार्यालय धोबीमा दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल समेत गराएको थियो ।

छलफलमा उनीहरु एकले अर्को पारिवारिक सम्बन्धमा ‘खलल नगर्ने’ सहमति गरेर हिँडे । त्यसबेला कुमारलाई उनकी पत्नी सविना श्रेष्ठ र प्रमिलालाई उनका पति नशे दमाईले जिम्मा लिएको प्रहरीको रेकर्डमा देखिएको छ ।

प्रहरीले छलफल गराएपछि पनि उनीहरु छुट्न सकेनन् । लुकेर भेटघाट र लिभिङ टुगेदरमा बस्दा प्रेम सम्बन्धले हत्याको रुपमा लिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!