दैनिक साढे ५०० मेगावाट बिजुली भारतबाट ल्याउँदै प्राधिकरण

Posted on: 20 Feb, 2024

फागुन ८, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्ति धान्नका लागि भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिएको छ । सुख्खायामा नेपालको उत्पादन खुम्चने भएकाले बिजुली माग धान्नका लागि भारतबाट ५४५ मेगावाट बिजुली आयात भइरहेको हो ।

यति बेला नेपालमा सरदर बिजुलीको माग १३ सय ४४ मेगावाट छ । तर, यो माग धान्नेगरी आन्तरिक उत्पादन भइरहेको छैन । नेपालमा सबैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) छन् । यी आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।

प्राधिकरणका अनुसार १३ सय ४४ मेगावाट माग पूर्ति गर्नका लागि ५४५ मेगावाट बिजुली आयात भइरहेको हो । तथ्यांकअनुसार यति बेला स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रबद्धन आयोजनाबाट ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जबकि, निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको कूल जडित क्षमता २२ सय मेगावाटभन्दा धेरै पुगिसक्यो ।

यस्तै, विद्युत् प्राधिकरणको लगानीबाट सञ्चालित आयोजनाबाट १९८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसबाहेक, प्राधिकरणको सहायक कम्पनीहरूबाट ११५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्र, प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको कूल उत्पादन जोड्दा ७६२ मेगावाट हुन्छ ।

यसअनुसार बजार मागअनुसारको आपूर्ति मिलाउनका लागि प्राधिकरणलाई थप ५८२ मेगावाट बिजुली चाहिन्छ । यही असन्तुलन मिलाउनका लागि प्राधिकरणले भारतबाट ५४५ मेगावाट बिजुली आयात गरिरहेको हो । तर, १३४४ मेगावाट सरदर माग मात्रै भएको प्राधिकरणले जनाएको छ ।

यति बेला नेपालको उच्च माग बढेर १८४९ मेगावाटसम्म पुगेको छ । यो समयको आपूर्तिका लागि प्राधिकरणले अर्धजलाशययुक्त आयोजनालाई सदुपयोग गरिरहेको छ । प्राधिकरणले उच्च माग आउने समयका लागि भनेर कुलेखानी आयोजना र माथिल्लो तामाकोसीमा पानी जम्मा गर्छ । र, आवश्यकताअनुसार बिजुली उत्पादन गर्दै आइरहेको छ ।

विद्युत् प्राधिकरणले सुख्खायामको यही असन्तुलनलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सौर्य ऊर्जामा जोड दिने नीति लिएको छ । प्राधिकरणको बोर्ड बैठकले ७०० देखि ८०० मेगावाटसम्म सौर्य आयोजनाबाट उत्पादन हुने बिजुलीको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने निर्णय गरिसकेको छ । पीपीए सम्पन्न भएको दुई वर्ष भित्रमा यी आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने आँकलन प्राधिकरणको छ ।

तर, प्राधिकरणले प्रतियुनिट ५.९४ रुपैयाँमा पीपीए खुलाउँदा सौर्य आयोजनाबाट बिजुली उत्पादन कठिन हुने सौर्य ऊर्जा उत्पादकहरुको संस्था (सोपान)का महासचिव प्रविन अर्याल बताउँछन् । उनका अनुसार सुरुमा सौर्य आयोजनाबाट उत्पादित बिजुलीले प्रतियुनिट १३ रुपैयाँ पाउँथ्यो । त्यसपछि, ९ र ७ रुपैयाँ हुँदै ५.९४ रुपैयाँमा आइपुगेको हो ।

नेपालले वर्षायामको समयमा भारततर्फ अर्बौ रुपैयाँको बिजुली निर्यात गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको वर्षायाममा नै नेपालबाट साढे १५ अर्ब रुपैयाँभन्दा धेरैको बिुजली भारततर्फ निर्यात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू वर्षदेखि नेपाल बिजुली व्यापारमा नाफामा रहनेछ । वर्षायाम सुरु भएपछि चालू वर्षको जेठ वा असारदेखि पुनः भारततर्फ निर्यात सुरु हुनेछ ।

बिजुली व्यापारका लागि नेपालले भारतको अपार बजारसम्म पहुँच बनाइसकेको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत बेच्नेगरी नेपाल र भारतका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । यो सम्झौताअनुसार आगामी वर्षदेखि भारतमा निबार्धरुपमा बिजुली निर्यात हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!