ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति

Posted on: 20 Feb, 2024

फागुन ८, काठमाडौं | पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् ।

ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलवार स्थलगत अनुगमन निरीक्षण गरेको छ । सरस्वती माताको मूर्ति विसर्जन गर्ने विषयमा ईशनाथ–७ घिउरा गाउँमा दुई समुदायबीच झडप भएको थियो । हिन्दू समुदायका मानिसले मूर्ति विसर्जनको लागि शनिबार लागिरहेको ट्याक्टर, डिजे बाजा मुस्लिम समुदायका मानिसले तोडफोड गर्नुका साथै घरको छतबाट प्रहार गरेको ढुंगाले कैयौंलाई चोटपटक लागेको थियो। सोही घटनाको बदला स्वरूप भोलिपल्ट गत आइतबार हिन्दु युवाहरुले ईशनाथ–२ औरैया गाउँस्थित रहेको मुस्लिमहरूको मस्जिदमाथि चढेर माइक सेट तोडफोड गरेको थियो । रौतहट क्षेत्र २ का संघीय सांसद किरण कुमार साहको सुझावअनुसार मंगलबार स्थानीय प्रशासनले उक्त क्षतिबारे वास्तविक बुझ्न स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

अनुगमन टोलीमा सांसद किरण साह, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, एसपी महेन्द्र श्रेष्ठको सहभागिता थियो । निरीक्षणको क्रममा उक्त घटनाहरुमा भएको क्षतिको  ईशनाथ नगरपालिकाले तत्काल पूर्ति गर्ने सहमति भएको एसपी श्रेष्ठले बताए । 


निरीक्षणपश्चात सांसद साहसहित प्रशासन प्रमुखहरु दुवै समुदायका अगुवासँगै स्थानीयहरुलाई राखेर सद्भाव कायम राख्नेबारे बृहत छलफल भएको थियो । छलफलमा हिन्दू र मुस्लिम अगुवाका साथै सहभागी जनप्रतिनिधिले आआफ्नो समुदायका मानिसलाई सम्झाइबुझाइ अब सबै मानिस मिलेर सौहार्दपूर्ण बस्ने प्रतिवद्धता जनाएका थिए ।

हिन्दू मुस्लिमबीच पुरै भाइचारा निर्वाह गर्ने कुनै सामाजिक समस्या देखिएमा दुवै समुदायका मानिस बसेर छलफल गरी समाधान निकाल्नेसमेत सहमति भएको एसपी श्रेष्ठले जानकारी दिए ।

यसअघि गत शनिबार सरस्वतीको मूर्ति विसर्जनको विषयमा अवस्था तनावग्रस्त हुँदा सिडिओ रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए । ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू हालसम्म यथावत छ । एसपी श्रेष्ठले त्यहाँको अवस्थाअनुसार परिचालित प्रहरी घटाउँदै जाने र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू पनि हटाइने जानकारी दिए । 

सो क्षेत्रमा थप अप्रिय हुन नदिन मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डिआईजी सञ्जय यादवसँगै २०० सशस्त्र र ५०० नेपाल प्रहरी गरी ७०० प्रहरी परिचालन गरिएको थियो ।

सांसद साहसँगै अन्य जनप्रतिनिधि, तीनैजना डिआईजीसहित दुवै समुदायका अगुवाहरू मिलेर सोमबार ईशनाथ–७ घिउरा गाउँ छेउको सार्वजनिक पोखरीमा मूर्ति विसर्जनको गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सद्भाव बिग्रिने किसिमको कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्ने आग्रह गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!