डेभिड वार्नर र एरोन फिन्चलाई ग्लेन म्याक्सवेलले उछिने

Posted on: 21 Feb, 2024

फागुन ९, काठमाडौँ | ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल अस्ट्रेलियाका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय म्याक्सवेलले यस्तो कीर्तिमान बनाएका हुन् ।

म्याक्सवेलले एरोन फिन्च र डेभिड वार्नरको कीर्तिमान तोडेका हुन् । म्याक्सवेलले हालसम्म अस्ट्रेलियाका लागि एक सय चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एरोन फिन्च र डेभिड वार्नरले भने एक सय तीनवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

न्युजिल्यान्डविरुद्ध बुधबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा म्याक्सवेलले ११ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २५ रन पनि बनाए । उक्त खेलमा भ्रमणकारी टोली अस्ट्रेलिया ६ विकेटले विजयी भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।

म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा हालसम्म ३०.५९ को औसतले कुल दुई हजार चार सय १७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ४५ रन हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!