जिबी राईको स्वर्णलक्ष्मीले पैसा फिर्ता दिएनन्, आमाको दाँत फेर्न नपाए पछि पीडित रविकाेमा धाउँदै

Posted on: 22 Feb, 2024

फागुन १०, काठमाडौँ | काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्दै आएकी ५० वर्षीया लक्ष्मी परियार अहिले बिरामी छिन्। उनको अगाडिपट्टीको दाँतमा समस्या छ। उनले राम्ररी उपचार गर्न पाएकी छैनन्।

उनीसँगै लाखौं रकम छ, त्यो रकम सहकारीमा छ। उपचार गर्ने बेला सहकारीले पैसा नदिएपछि दाँतसमेत राम्ररी लगाउन नपाएको गुनासो उनी गर्छिन्।

उनी २८ वर्षदेखि सोल्टी होटलमा कार्यरत् छिन्। उनी त्यहाँ हाउसकिपिङको काम गर्छिन्।


यतिका लामो समय काम गरेर कमाएको र बचत गरेको सबै रकम उनले कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरेकी छिन्।

हालसम्म गरेर उनले त्यहाँ ९१ लाख २१ हजार ८२२ रुपैयाँ बचत राखेकी छिन्। तर, उनलाई दाँतको उपचार गर्ने बेलामा सहकारीले जम्मा पाँच हजार रुपैयाँ मात्रै दियो, त्यो पनि धेरै रोइकराइकन।

‘निक्षेप निकालेर आमाको उपचार गरौं भन्ने लागेको थियो, ३० हजार रुपैयाँ माग्दा दिएन,’ छोरा कृष्ण परियारले भने।

उनले ऋण काढेर आमालाई ओम समाज डेन्टलमा सामान्य उपचार गरे।

‘ढेड लाख रुपैयाँजति भए मात्रै राम्रोसँग नयाँ दाँत लगाउन सकिने डाक्टरले भनेका छन्,’ कृष्ण भन्छन्।


लक्ष्मीले ९१ लाख रुपैयाँ धेरै दु:ख साथ कमाएकी हुन्। हाउसकिपिङको कामबाट बचत भएको, सञ्चय कोषको रकमसमेत गरी उनले मातातीर्थमा साढे चार आना जग्गा किनेकी थिइन्।

पहिले सस्तोमा किनेको उक्त जग्गा ५४ लाख रुपैयाँमा बेचिन्। त्यो समेत गरेर उनले सहकारीमा रकम जम्मा गरेकी थिइन्।

अहिले उक्त सहकारीले उनलाई घरको न घाटको बनाइदिएको छ। ‘एक वर्षदेखि बचत रकम मागिरहेका छौं, तर सहकारीले दिँदै दिँदैन,’ कृष्णले भने।

कृष्ण एक्लै छैनन् यसरी पैसा नपाउने व्यक्ति। सयौं बचतकर्ताहरू आफ्नो निक्षेप नपाएपछि सहकारी रजिष्ट्रारको कार्यालय र प्रहरीमा गुहार मागिरहेका छन्।

दुई महिनायता उनीहरू सहकारी रजिष्ट्रारको कार्यालय हेटौंडामा धाइरहेका छन्। हालसम्म त्यहाँ साढे चार सयजतिले निवेदन दिइसकेका छन्।

उक्त सहकारीका सञ्चालक चिरपरिचित छन् - सहकारी ठगीकै प्रकरणले। स्वर्णलक्ष्मी सहकारी ग्यालेक्सी फोरके टिभीका मालिक गितेन्द्रबाबु राईको हो। यसका कोषाध्यक्ष कुमार रम्तेल कास्की कारागारमा छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रम्तेल पुर्पक्षका लागि कारागारमा छन्।

जिबी राईको अत्तोपत्तो छैन। उनीसहितका व्यक्ति सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्।

स्वर्णलक्ष्मी सहकारीका पूर्वअध्यक्ष जिबीकै आफन्त दीपक लामा हुन्। यो सहकारीका व्यवस्थापक नवीन अछामी कुमार रम्तेलका भान्जा हुन्।

यो सहकारी २०५६ सालमा स्थापना भएको हो। लक्ष्मीले सहकारीमा २०६५ सालदेखि बचत गर्न थालेकी थिइन्। २०७८ सालमा नयाँ पासबुक लिएयता बचत गरेको रकम लाखौं देखिन्छ।

यो सहकारीबाट पनि जिबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम झिकेको आशंकायुक्त भौचरहरू सार्वजनिक भएका छन्।

सहकारी संस्थाबाट चार पांग्रे सवारी कर्जा भनी लामिछाने र राईले झन्डै एक करोड रकम निकालेको दाबीसहित बिनाहस्ताक्षर तथा बिनाछापका भौचर बाहिरिएका छन्।

२०७८ सालमा दुई पटक गरेर राई र लामिछानेले झिके भन्ने दाबी पीडितहरूको छ।

लामिछाने र राईका नाममा २०७८ साल वैशाख ९ गते ४६ लाख ४८ हजार रुपैयाँ पहिलोपटक उक्त सहकारीबाट रकम बिनाहस्ताक्षर र बिनाछापको भौचर बाहिरिएको छ।

यो ऋण उनीहरूले ‘स्वर्णलक्ष्मी चार पांग्रे कर्जा’ शीर्षकमा लिएको दाबी गरिएको छ। भौचरमा गोर्खा मिडिया प्रालिलाई उक्त रकम दिइएको दाबी गरिएको छ।

भौचरमा रवि, जिबी र गोर्खा मिडियाका लागि ऋण दिइएको उल्लेख भए पनि बुझिलिनेको भने हस्ताक्षर छैन। जिबी/रवि दुबैलाई भौचरमा ऋणी भनेर लेखिएको छ।

जिबी/रविले दोस्रोपटक उक्त सहकारीबाट चार पांग्रे सवारी शीर्षकमै २०७८ साल साउन ५ गते ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको अर्को भौचर बाहिर ल्याइएको छ। उक्त भौचरमा पनि रकम बुझिलिने जिबी/रविको हस्ताक्षर छैन।

सहकारीको अभिलेखमै भेटिएको भन्दै यस्ता शंकास्पद भौचर कसरी सम्भव भए भनेर पीडित कृष्ण बताउँछन्।

‘यी भौचर हामीले सहकारीभित्रैबाट फोटो खिचेर ल्याएका हौं, ऋण नलगेको भए सहकारीमा कहाँबाट आए यी भौचर?,’ उनको प्रश्न छ।

यी भौचरबारे हामीले आधिकारिता खोज्न खोज्यौं। तर, यो अहिले अनुसन्धानको विषय बनेको छ। स्वर्णलक्ष्मीको सर्भर नै प्रहरीले लगेको छ।

गत फेब्रुअरी ७ तारिखदेखि नै स्वर्णलक्ष्मीको सिस्टम बन्छ छ। स्वर्णलक्ष्मी सहकारीले नै एक सूचना जारी गरी सर्भर कास्की प्रहरीले लगेको बताएको छ। कास्की प्रहरीले सर्भिरमाथि अनुसन्धान जारी रहेकाले त्यहाँ रहेको कारोबारबारे अहिले बताउन नसकिने जनायो।

सहकारीकर्मीहरू बिनाछाप र बिनाहस्ताक्षरको ऋण पत्र बन्दै नबन्ने बताउँछन्। रास्वपा सह-प्रवक्ता प्रतिभा रावलले कल्पनै गर्न नसकिने बिनाछाप र हस्ताक्षरका भौचर ल्याएर बदनाम गराउन खोजिएको बताइन्।

‘यस्ता कागजातको आधिकारिकता नै नहुने भएकाले हामीले थाहा पाएर पनि खण्डन गरेनौं,’ उनले भनिन्।

कृष्णका अनुसार सहकारीले रकम नदिएपछि घर-जग्गा जोड्ने योजना अलपत्र छ। ‘युरोपियन मुलुक जानुपर्‍यो भनी प्रक्रिया सुरू गर्न खोजेको, सहकारीबाट रकम नै नपाएपछि यतिकै बस्नुपरेको छ,’ कृष्णले भने।

कृष्णले स्वर्णलक्ष्मी सहकारीका सञ्चालक रविका पार्टनर रहेको थाहा पाएको उहिल्यै हो। प्रतिनिधिसभा चुनावताकै कृष्ण लामिछानेलाई भेट्न गएका थिए।

सुरूमा त लामिछानेले समय नै दिएनन्। निकै बिन्तिभाउ गरेपछि भेट दिए। भेटेर सहकारीबाट पीडित भएकाले कुरा गरिदिन अनुरोध गरे।

‘उहाँले हुन्छ भन्नुभयो, केही समय कुर्‍यौं,’ कृष्णले भने, ‘तर केही रेस्पोन्स आएन।’

यसपछि कृष्ण फेरि लामिछानेलाई भेट्न ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टीको वनस्थलीस्थित कार्यालयमै पुगे। लामिछानेले हत्पत् भेट दिएनन्। राति करिब ९ बजे मात्रै भेट दिए।

‘आमालाई नै लिएर गएको थिएँ, घर खर्चका लागि २०/२५ हजार मात्रै भए पनि मिलाइदिनुपर्‍यो भनें,’ कृष्णले भने।

रविले कुमार रम्तेललाई कृष्णकै अगाडि फोन लगाए। जतिबेलै डायल गर्दा नउठाउने गरेका रम्तेलले रविको फोन दुई चार रिङमै उठाए।

‘कुमार रम्तेललाई प्रहरीले पक्रेकै थिएन, फोन गरेर रबि लामिछानेले कुरा राखिदिनुभयो,’ उनले भने।

‘भोलि फोन आउँछ भन्नुभयो,’ कृष्णले भने, ‘के को आउनू?’

सहकारीमा गए, रम्तेल भेटिएनन्। व्यवस्थापक अछामी कहिल्यै कार्यालयमा बस्दैनन्। अन्य कर्मचारीले केही जवाफ दिँदैनन्।


‘ब्याज नदिए पनि केही फरक परेन, साँवा मात्रै फिर्ता पाउँ भन्छु, त्यो पनि मिल्दैन,’ उनले भने।

अछामी घरी फोन अन गरेर बस्छन्, घर अफ गरेर। अन हुँदा कहिल्यै फोन उठाउँदैनन्।

‘हामी त पैसा सहकारीमा भएर पनि सुकुम्बासी हुने भयौं,’ कृष्णले भने।

बचत रकम फिर्ता नपाएर हायलकायल भएका कृष्ण गत माघ २८ गते फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगे। सभापति लामिछानेलाई सम्बोधन गरेर चिठी लेखेर छोडेका छन्।


‘विभिन्न निकायमा धाउँदा अझसम्म पनि उपलब्धी हासिल नभएका कारण हजुरसमक्ष यो निवेदन पेश गर्न बाध्य भएका छौं,’ कृष्णले निवेदनमा उल्लेख गरेका छन्।

स्वर्णलक्ष्मीका शाखाहरू बौद्ध, महाराजगन्ज, स्वयम्भू, जोरपाटीमा छन्। स्वर्णलक्ष्मीमा १३ हजार बचतकर्ता छन्। त्यहाँ निक्षेप रहेको २ अर्ब ७४ करोड जोखिममा छ।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना सम्बन्धमा बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय हेटौंडामा उजुरी परे पनि उसले अहिलेसम्म प्रहरीलाई चिठी लेखेको छैन।

सहकारी ठगीको छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिलेसम्म स्वर्णलक्ष्मी सहकारीबारे पत्र पाइनसकेको बताएको छ।

सहकारी विभागका उप-रजिष्ट्रार टोलराज उपाध्यायले स्वर्णलक्ष्मी सहकारीबारे परेका सबै उजुरी आवश्यक कारबाहीका लागि बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा पठाइएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!