हुम्लाको चंखेलीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Posted on: 22 Feb, 2024

फागुन १०, काठमाडौँ | हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रूद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र ३ नम्बरका वडाध्यक्ष सालिग्राम ऐडीविरूद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा उनीहरुले अनियमितता गरेका थिए। उनीहरूले फिल्ड निर्माण कार्यमा वास्तविक काम भएकोभन्दा बढी मूल्यांकन गरेको अख्तियारको आरोप छ।

काम गरेभन्दा बढी काम भएको देखाएर बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी ११ लाख ९४ हजार रुपैयाँ बढी भुक्तानी दिएको पाइएको, त्यसबराबर बिगो जफत गरी कैद र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!