अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला अस्पताल भर्ना

Posted on: 24 Feb, 2024

फागुन १२, काठमाडौं | काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् ।

उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसरकाठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो ।

त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।

शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

प्रहरीले सिंह, उनका श्रीमान र दिदीलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि उनलाई अस्पताल लगिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, बच्चा चोरी गर्ने महिलामाथि अनुसन्धान भइरहेको छ । अहिले पाठेघरबाट रक्तस्राव भएर बिरामी भएकोले हामीले अस्पताल पठाएका छौँ । उसले किन यस्तो गर्‍यो सबै कुरा बुझेपछि कसुर अनुसारको मुद्दा अघि बढाउँछौँ ।’

अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाई छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!