डिभोर्सबिनै शरद र निशाबीच अंशबन्डा, यस्तो छ जिल्ला अदालतको फैसला

Posted on: 26 Feb, 2024

फागुन १४, काठमाडौँ | पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले निशाले अंश पाउने फैसला गरेको छ।

नायिका निशाले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौमा मुद्दा हालेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो।

उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। यी दम्पतीका पाँच वर्षका एक छोरा छन्। निशाले छोरा आफूसँगै रहेको भन्दै तीन भागको दुई भाग सम्पत्तिको दाबी सहित मुद्दा हालेकी थिइन्।


न्यायाधीश शिशिरराज ढकालले शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला सुनाएका छन् । अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्ने फैसलामा उल्लेख छ । निशाले शरदको सम्पत्तिबाट दुई तिहाइ (३ भागको २ भाग) आफूले पाउनुपर्ने मागदाबी अदालतसमक्ष गरेकी थिइन् । 

आफ्नो फिरादपत्रमा निशाले विवाह भएको केही समयसम्म राम्रोसँग पारिवारिक जीवन चले पनि पछि श्रीमानबाट राम्रो व्यवहार नभएको उल्लेख गरेकी थिइन् । पत्नी र छोराको शिक्षा, स्वास्थ्य लगायतको व्यवस्था गर्नुपर्ने दायित्वबाट पन्छिएर ‘आफैँ घर व्यवहार चलाउनु, म खर्च गर्न सक्दिनँ’ भनी जवाफ दिएको निशाको दाबी छ ।

निशाले शरदको अंशलाई तीन भाग लगाएर नाबालग छोराको अंशभाग पनि आफूलाई दिन माग गरेकी थिइन् । यस्तै छोरा र आफूलाई जनही ५० हजारको दरले मासिक १ लाख रुपैयाँ पतिले दिनुपर्ने उनको अर्को मागदाबी थियो ।

यता, शरदले आफ्नो सल्लाह र मञ्जुरीबिना आफूसँग २०७५ सालदेखि पत्नी अलग भएर माइतीमा बस्दै आएको बताएका छन् । छोरालाई बाबुआमा दुवै मिलेर हुर्काउने, हप्तामा तीन–तीन दिन पालैपालो राख्ने र छोराको सबै आर्थिक दायित्व आफूले बहन गर्ने समझदारी आफूहरुबीच भएको उनको भनाइ छ ।

‘त्यसैअनुसार मैले सम्पूर्ण जिम्मेवारी पूरा गर्दै छोराको मासिक अध्ययन शुल्क १० हजार रुपैयाँ नियमित तिर्दै आएको छु ।’ उनले आफ्नो जवाफमा भनेका छन् ।

शरद नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी थिए भने निशा थुप्रै चलचित्रमा अभिनय गरेकी कलाकार हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए। शरदले अदालतमा दिएको उत्तरमा निशाले अंश लिएर छुट्टै बस्न चाहनु आफ्ना लागि स्वीकार्य भएको बताएका छन्।

शरदका अनुसार उनले २०७५ साल र २०७६ सालमा दुई पटक गरी निशालाई भरणपोषणका लागि ११ लाख ५० हजार रुपैयाँ रकम पनि दिएका छन् । आफ्नो आर्थिक हैसियत अनुसार हेरचाह गर्दै आइरहेकाले पत्नीको दाबी बमोजिम मासिक माना चामल र अंश दुवै दिन उनले अस्वीकार गरेका थिए ।

‘म प्रतिवादीले आफ्नो सन्तानप्रति गर्नुपर्ने सम्पूर्ण कर्तव्य पूरा गर्दै आएको र विपक्षी वादीको आयस्रोत मेरोभन्दा राम्रो भएकाले फिरादी पत्नीले भनेजस्तो माना चामल भराउनुपर्ने अवस्था होइन,’ शरदले भनेका छन् । उनले अंश लिएर छुट्टिन चाहेमा आफूलाई मन्जुर रहेको पनि बताएका थिए ।

नाबालिग छोराको अंश हक भने आफूसित सुरक्षित रहने गरी विपक्षी पत्नीलाई एक भाग अंश दिन उनको प्रस्ताव थियो ।

अदालतले शरद र निशा दुवैको माग आंशिक पूरा गरिदिएको छ । अंश तीन भाग लगाएर नाबालिग छोराको भाग उनी साबालिग नहुञ्जेल आमा र बुवा दुवैको संरक्षणमा रहनुपर्ने फैसला न्यायाधीश ढकालले सुनाएका छन् ।

यसैगरी, हालसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ माना चामल खर्च दिइरहेकोमा निशाले अंश प्राप्त नगरेसम्म यसैलाई निरन्तरता दिन फैसलामा उल्लेख गरिएको छ ।

शरद र निशाको फैसला गर्ने न्यायाधीश ढकाल उनै हुन्, जसले सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएका थिए ।

डिभोर्सबिनै माना चामल ?

शरद र निशाबीच अदालतले अंशबन्डा गरिदिए पनि उनीहरूको सम्बन्धबिच्छेद भएको देखिँदैन । कानूनअनुसार कुनै पनि विवाहित महिलाले श्रीमानसँग डिभोर्स नगरीकन पनि अंश वा माना चामलको मागदावी गर्न सक्छिन् ।

कानून व्यवसायीका अनुसार डिभोर्स र माना चामल मुद्दा फरक हुन् । डिभोर्स गरेपश्चात् महिलासँग श्रीमानको नातासम्बन्ध टुट्छ । तर माना चामलको मुद्दा श्रीमान्–श्रीमतीको नाता कायम राखेरै दायर हुन सक्छ ।

अहिले शरद र निशा २०७५ सालदेखि अलग बस्दै आइरहे पनि दम्पतीकै हैसियतमा छिन् । यदि डिभोर्स गर्न चाहेमा अर्को मुद्दामा जानुपर्ने हुन्छ । कानून व्यवसायीका अनुसार माना चामल भइसकेपछि श्रीमान् वा श्रीमतीले अर्को विवाह गर्न स्वतन्त्र हुन्छन् ।

शरद र निशाको विवाह २०७४ असार १६ गते भएको थियो । उनीहरूले २०७५ साल जेठ ३ गते पहिलो सन्तानका रूपमा पुत्र लाभ गरेका थिए । सन्तान प्राप्ति लगत्तै निशा शरदसँग छुट्टिएर माइतीमा बस्न थालेकी हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!