निशा र शरदले आफ्नो भागको सम्पत्ति छोराको नाममा राख्ने

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | अभिनेत्री निशा अधिकारी र उनका श्रीमान पूर्वक्रिकेटर शरद भेषवाकरले आफूहरुको सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन् । निशाले मंगलबार फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।

उनले यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिएकी छन् । आफूहरुले एकअर्काबाट पैसा नलिने समेत उल्लेख गरेकी छन् । कानूनमा आमा र बुवा दुबैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै निशाले कानूनी उपचार आफ्नो व्यक्तिगत रहेको बताएकी छन् ।

दुबैको धनसम्पत्तिमा दुईटैको नजर नरहेको उल्लेख गर्दै निशाले छोरा र छोरीलाई बराबर अंश दिने प्रावधानको स्मरण गराएकी छन् । ‘तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत हो’ उनले लेखेकी छन् ।


उनले आफ्नो सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा आफूलाई गव लागेको उल्लेख गरेकी छन् । उनले कानूनी उपचार लिएर समस्या सुल्झाउन हुने पहललाई सामान्यीकरण गर्न समेत आग्रह गरेकी छन् । अझै पनि कानून संसोधन जरुरी रहेको उनको धारणा छ ।

केही वर्षदेखि आफूले कठिन परिस्थिती भोगिरहेको र यसबाट मुक्त भएको उनको भनाई छ । दुबै अभिभावकको हेरचाहमा छोरालाई हुर्काउने शान्त वातावरण बनेको पनि उनले बताएकी छन् ।

निशा र शरदको मुद्दामा गत मंसिर २८ गते फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले निशाले सगोलको सम्पत्तिको तीन भागको एक भाग अंश पाउने फैसला सुुनाएको थियो । बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको थियो ।

अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको थियो । अदालतको फैसलाबारे मिडियामा समाचार आएपछि निशाले फेसबुकबाट प्रष्टीकरण दिएकी हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!