हत्या गरिएको अवस्थामा महिलाको शव घरभित्र फेला

Posted on: 09 Mar, 2024

फागुन २६, सिराहा | सिराहामा हत्या गरिएको अवस्थामा एक महिलाको शव आफ्नै घरभित्र फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पती मात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । 

राती अबेर अनिताको श्रीमान् महेन्द्र आत्तिएर बाहिर आएको थाहा पाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर बेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्‍याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 

महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ। सो घटनामा श्रीमान् शङ्काको घेरामा रहेको प्रहरीले बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!