पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २७, काठमाडौँ । डडेल्धुरामा २१ वर्षीया युवती मृत भेटिएकी छन् । सामाजिक सञ्जाल टिकटकमा चर्चित रहेकी विमला देउवा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार गन्यापधुरा गाउँपालिका– ३ स्थित आफ्नै घरमा देउवा मृत फेला परेकी हुन् ।

`बुधबार साँझ झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन्',´डीएसपी कार्कीले भने, `प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको जस्तो देखिन्छ । थप अनुसन्धान गरिरहेका छौँ ।´

गन्यापधुरा गाउँपालिका– ३ का अध्यक्ष चक्र देउवाका अनुसार जिल्ला सदरमुकामको महेन्द्र माविमा अध्यनरत विमला कक्षा १२ नजिता बिग्रेपछि तनावमा थिइन् ।

`परिवारका सदस्यले दिएको जानकारीअनुसार नजिता बिग्रेपछि विमला तनावमा थिइन्,´ देउवाले भने, `एकपटक केही दिनअगाडि पनि आत्महत्याको प्रयास गरेपछि आमाले रोकेकी थिइन् भन्ने जानकारी आएको छ । तर, बुधबार आमा र भाउजू बाहिर भएको समयमा उनले आत्महत्या गरेकी छिन् ।´

पारिवारिक स्रोतका अनुसार विमलाको मंसिरमा विवाह गर्ने तयारी भइरहेको थियो । मृत फेला परेको झण्डै एक घण्टाअघि उनले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहितको स्टोरी राखेकी छिन् । उनको टिकटकमा २ लाख २४ हजार फलोअर्स छन् । विमलाका बुबाको पनि तीन महिनाअघि २६ जेठमा मृत्यु भएको थियो । उनी प्रेसरका बिरामी थिए ।