असोज १, काठमाडौँ । सल्यानमा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका–४ फालावाङका ५५ वर्षीय टोपबहादुर साहु र सोही ठाउँकी ५२ वर्षीया लाली रावतको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार साहुको जिल्ला अस्पताल सल्यान खलंगामा राति दश बजे र रावतको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते रावतलाई दाङको तुलसीपुरपछि थप उपचारका लागि घोराही लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए।

जिप दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ की ४० बर्षीया पूर्णकला बस्नेत, सोही ठाउँका २९ वर्षीय रबिन्स महतरा र जिपका चालक त्रिबेणी – ३ छत्रपालका २८ बर्षीय चालक कमल रेउले घाइते भएका छन्। सबै घाइतेहरूका दाङमा उपचार जारी छ।

सोमबार बेलुकी करिब ७ बजेतिर भित्री सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको यात्रुवाहक बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डे २५ मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Related News