Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
October 3, 2024 समाज

समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

By साझासवाल

असोज १७, काठमाडौँ | समयमा उपचार नपाउँदा अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ की २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार, गए राति करिब १२ बजे जैसीलाई सुत्केरी बेथा लागेको थियो।

परिवारका सदस्यहरूले उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना लैजाँदै गर्दा बीच बाटोमै बच्चा जन्मिएको थियो। बच्चा जन्मिएको केही समयपछि उनको रक्तस्राव सुरु भएको थियो। उनलाई स्वास्थ्य चौकी पुर्‍याइए पनि त्यहाँ आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान सल्लाह दिइएको थियो।

जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याउन करिब ७ घण्टाको समय लाग्दा, उपचार पाउनुअघि नै जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

अस्पतालमा ढिलो पुर्‍याएकाले मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्यले बताए।

यसअघि, बैतडीको पञ्चेश्वर गाउँपालिका–१ की १८ वर्षीया मनीषा घटालको पनि समयमा उपचार नपाउँदा मृत्यु भएको थियो। अत्यधिक रक्तस्रावका कारण उनले मृत बच्चा जन्माएकी थिइन्। पहिरोले बाटो अवरुद्ध भएकाले समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा मृत्यु भएको थियो।

सुदूरपश्चिममा हरेक वर्ष समयमा उपचार नपाएर सुत्केरी महिलाको मृत्यु हुने क्रम जारी छ। हेलिकप्टर उद्धारको व्यवस्था भए पनि सबैको पहुँचमा त्यो सेवा अझै पुग्न सकेको छैन।