असोज १८, काठमाडौँ | सरकारले अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संसद्को पूर्वाधार समितिमा अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो। मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरु गरेको बताए। फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने जानकारी दिए।

यो पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए। 'सबैभन्दा धेरै समय बीपी राजमार्ग पुनर्निर्माणमै लाग्छ। १२ किमि सडक त नाम निशाना नै छैन,' उनले भने।

पूर्वमन्त्री प्रकाश ज्वालाले सडकमा अलपत्र परेका यात्रु उद्धारमा सरकारले ध्यान दिनुपर्ने बताए। 'गाडीभन्दा पनि मान्छेको उद्धार पहिले हुनुपर्यो। दसैँमा यात्रु सहज रूपमा घरजाने वातावरण बनाउनुपर्यो। तत्काल पुल बनाउन नसके पनि बेलिब्रिज लगाउनु पर्यो,' उनले भने।