मङ्सिर २४, नयाँवजार | नयाँवारका दुई ब्यक्तिले सो क्षेत्रको फोहोर ब्यवस्थापनकालागि छुट्टाछुट्टै स्थानमा निशुुल्क जग्गा उपलब्ध गराएका छन् ।
स्थानिय लिला थामीले नयावजार पाँच र दुर्गा भट्टराईले नयाँवजार एकमा रहेको पाँच पाँच रोपनी जग्गा उपलब्ध गराएको सरसफाईका क्षेत्रमा काम गर्दै आएकी सामाजिक उत्प्रेरक मुना धितालले जानकारी दिइन् । उनका अनुससार प्रति रोपनी पच्चिस हजार र दश रोपनी जग्गाको मुल्य दुईलाख पचास पर्ने वताइएको छ । गाविसलाई पुर्ण सरसफाई गाविस घोषणा गर्नका लागि ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फनवर्ड) को आर्थिक सहयोग, सुनगाभा विकास संस्था इलामको सहजीकरण र नयावजार गाविसको आयोजनामा सरसफाई सम्वन्धि काम भइरहेको जनाइएको छ ।
फोहोर फल्ने ठाउँ नहुदा वजार क्षेत्रमा थुप्रीएको फोहोर ज्यूँका तिहुँ रहँदै आएको थियो । अव भने जग्गा पाएपछि सो क्षेत्र समेत सफा रहने स्थानियले आशा लिएका छन् । खुल्ला दिशा मुक्त भइसकेको नयावजारमा हाल समेत बीस देखी पच्चिस घरमा शौचालय नरहेको वताइएको छ । शौचालय नभएका परिवारमा समेत शौचालयका लागि सहयोग गर्ने सामाजिक उत्प्रेरक अञ्जु विशुङ्खेले वताइन् ।
कार्यक्रम लागु भएका गाविसमा दुई-दुई जना सामाजिक उत्प्रेरकहरु गाउँमा नै क्रियाशिल रहँदै आएका छन् । कार्यक्रम अन्तर्गत आगामी जेठ महिना भित्रमा नयावजार सहित फाकफोक, चमैता, जितपुर, प्याङ, इरौँटार, इभाङ र साकफारा गाविसलाई पुर्ण सरसफाई युक्त गाविस घोषणा गर्ने लक्ष लिइएको छ । पुर्ण सरसफाइकालागि तयार पारिएका पाँच जोड एकका सुचाङकहरु कार्यान्वयन भए नभएको समेत अनुगमन भइरहेको वताइएको छ ।