पढ्न करिब 2 मिनेट लाग्छ

माघ २७, इलाम । इलाममा एक लाख ९३ हजार पाँचसय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । यसमा ९९ हजार दुईसय सात पुरुष र ९४ हजार तीनसय ३९ महिला र दुईजना तेस्रोलिङ्गी रहेका छन् ।

कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता अद्यावधिक कार्यक्रममा दुईहजार नौसय ३९ जना मतदाता थपिएका हुन् । पुष पहिलो सातादेखि माघ दोस्रो सातासम्म सञ्चालन गरेको अद्यावधिक कार्यक्रममा एकहजार ६ सय ३८ पुरूष र एकहजार तीनसय एक महिला मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या वृद्धि भएको हो । कार्यालयले पछिल्लो चरणमा जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको काफ्लेले जानकारी गराउनुभयो ।

वैदेशिक रोजगारीमा गएका नागरिक मतदाता नामावली दर्ता गराउन छुटेका छन् । सरकारले निर्वाचन मिति घोषणा गर्ने चर्चा चलिरहेका बेला जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापनसँगै निर्वाचनको तयारीमा जुटेको समेत उहाँले बताउनुभयो ।

“आयोगले लिखितरूपमा पत्राचार र निर्देशन दिएपछि दु्रतगतिमा काम अघि बढ्छ”, जिल्ला निर्वाचन अधिकृत काफ्लेले रासससँग भन्नुभयो, “अहिले पनि तयारीमा लागिरहेका छौँ ।” रासस