आज विश्व क्षयरोग दिवस विविध कार्यक्रम गरी मनाइदै

Posted on: 24 Mar, 2017

पर्वत । विश्व क्षयरोग दिवस आज नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन लागेको हो  । हरेक बर्ष मार्च २४ मा मनाइने यो दिवस आज पनि विश्वभर मनाइदै छ । पर्वतमा पनि क्षयरोग सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको छ । 


क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ गर्दछ । 


एक जना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ ।


औषधी नियमीत खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधीको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।


नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम मार्फत देशभरी क्षयरोगीका लागि प्रत्यक्ष निगरानीमा गरिने डट्स विधीबाट उपचार गर्ने गरिएको छ । ४ हजार २ सय ५१ उपचार केन्द्रमा डट्स विधीबाट उपचार हुन्छ । त्यस्ता उपचार केन्द्रमा बिरामीलाई निशुल्क औषधी चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाउने गरिन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा क्षयरोगीको संख्या ३६ हजार नाघी सकेको छ ।

क्षयरोगअन्तर्गत फोक्सोको टिवी, ग्लाइन टिवी, पेटको टिवी, हड्डीको टिवी तथा मष्तिष्कको टिवी हुन सक्ने भएपनि जिल्लामा विशेषगरी फोक्सोको टिवीका कारण बिरामी प्रभावित हुने गरेका छन् । एउटा व्यक्तिले आफूलाई रोग लागेको अवधिभरिमा करिब १० जनासम्म बिरामीलाई यो रोग सार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

त्यसैले, समयमै रोगको निदान गर्नका लागि खकार चेक गरेमा यो रोग समयमै पत्ता लाग्न सक्छ । साथै रोगबाट छुटकारा पाउनका लागि यो रोगलाई बढावा दिने चिजलाई कम गर्नुपर्ने देखिन्छ । वातावरणीय प्रदूषणअन्तर्गत दाउरा बाल्दा, धुवाँधुलोमा बस्दा, चुरोट, बिँडी, तमाखु तथा मदिरा सेवनले यो रोगलाई बढावा दिने भएको हुँदा यी कुराबाट टाढै रहनुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारी निकाय सँगसँगै गैरसरकारी सङ्घसंस्था तथा सरोकारवाला तथा मिडियाले व्यापक जनचेतना फैलाउन सकेमात्र जनता रोगका बारेमा जानकार हुन सक्छन् र समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्छन् । 

त्यसैले, पहिलो कुरा त जनताको चेतनास्तरमा वृद्धि गर्नुपर्ने देखिन्छ । यसका साथै राज्यले क्षयरोग न्यूनीकरणका लागि लगानी बढाउनुपर्नेछ । जिल्लामा केन्द्रित रोगको उपचारको लागि आवश्यक परामर्शको बारेमा गाउँतहमा रहेका स्वास्थ्य संस्थाबाट पनि प्रवाह गर्न सक्नुपर्छ । जसका लागि खकार परिक्षण केन्द्रको तल्लो तहबाटनै स्थापना गर्न सकेमा विरामीलाई पहि सहज हुने देखिन्छ ।

आज चैत ११ गते क्षयरोग दिवस परेको छ । दिवस मनाउनका लागि सरकारले ठूलो धनराशि खर्च गर्दैछ । तर दिवस दिवसमा मात्र सीमित रहनु हुँदैन । सदरमुकाम वा मोटरगाडी गुड्ने ठाउँमा मात्र नभएर पिछडिएका बस्ती वा लक्षित वर्गसम्म दिवस मनाउने वातावरण मिलाउन सकेमात्र दिवसको वास्तविक अर्थ रहनेछ भन्ने कुरामा दुईमत नहोला । त्यसैले यस वर्षको क्षयरोग दिवस प्रत्येक जिल्लाका दूरदराजमा पुगेर मनाइनु पर्छ । अचेत जनतालाई सचेत बनाउन सकेमात्र दिवसको सार्थकता झल्कनेछ । 

पर्वतमा यो आवमा ३६ जना मानिसहरुहमा यो रोगको लक्षण देखा परेको छ । १३ पूरुष र २३ महिलामा यो रोगको लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. बुद्धि बहादुर थापाले साझा सवाललाइ जानकारी दिए । उनका अनुसार जिल्लामा  २१७ जना क्षयरोगी रहेको छ । आव ०७१।७२ मा २६ पूरुष, ५५ महिला गरी ८१ जनामा यो रोग फेला परेको थियो । जसमध्ये १५ जनाले नियमित उपचार गरेको, ३९ जना उपचार बहारि रहेको र १ जनाको मृत्यु भएको बताए । त्यस्तै आव ०७२।७३ मा ३२ पुरुष,६८ महिला गरी १०० जनामा यो रोगको लक्षण देखा परेको र जसमध्ये ५२ जना नियमित उपचारमा सहभागी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा तीन बर्षको तथ्याङक अनुसार ७१ पुरुष र १४६ महिला गरी २१७ मा यो रोगको लक्षण देखा परेको तथ्याङकमा उल्लेख गरिएको छ ।

क्षयरोग भनेको के हो ?

क्षयरोग वा ट्युबरकुलोसिस्लाई सामान्य बोलीचालीको भाषामा टीबी पनि भनिन्छ । सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । शरीरका सबै शक्तिहरु बिस्तारै विस्तारै क्षय वा कमजोर बनाउँदै लैजाने भएकाले पनि यसलाई क्षयरोग भनिएको हो । यसको असर विशेष गरेर फोक्सोमा देखापर्ने भए पनि मष्तिस्क, हाड, आन्द्रालगायतका अङ्गमा यसको सङ्क्रमण बढी हुन्छ ।

क्षयरोगका लक्षणहरु ः

१. लगातार खोकी लाग्ने ।

२. रोग लागेका लामो समयपछि खोकीमा रगत देखापर्ने ।

३. तौल घट्ने ।

४.फोक्सो दुख्ने वा असजिलो महसुस हुने ।

बच्ने उपाय ः

१. यो रोग विशेष गरेर धूमपान तथा मद्यपान गर्नाले लाग्दछ । त्यस कारण यस्ता वस्तुको सेवन नगर्ने ।

२. बढी धुवाँ वा धुलो भएको स्थानमा नबस्ने ।

३. खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्ने ।

४. बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउने ।

४. क्षयरोग लागेका व्यक्तिभन्दा टाडै बस्ने । रोगीको जुठो नखाने ।

कस्ता व्यक्तिलाई बढी संक्रमण हुन्छ ?

१. यो रोग यही उमेर वा लिङ्गका व्यक्तिलाई लाग्छ भन्ने छैन । जुनसुकै उमेर समूहका व्यक्तिमा यो देखापर्न सक्छ ।

२. रोगीको सम्पर्कमा धेरै पटक आउने व्यक्ति ।

३. धेरै भीडभाडमा बस्ने व्यक्ति ।

४. बढी मध्यपान वा धूमपान गर्ने व्यक्ति ।

५. दीर्घ रोग लागेका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति ।

यो रोग लागिहाले के गर्ने ?

यो रोगको बेलैमा उपचार गरे निको हुन्छ । तर हेलचाक्र्याइँका कारण नेपालमा बर्से्नि यो रोगबाट धेरैको मृत्यु हुने गरेको छ । यो रोग लागेको शङ्का लागेमा तुरुन्त चिकित्सकको सल्लाहा बमोजिम नियमित औषधी सेवन गर्नुपर्छ ।  क्षयरोग लाग्ने कारण र यसबाट बच्ने उपायबारे जनचेतना जगाउने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!