कानुनी दायरामा आएनन् रोल्पाका ट्युसन सेन्टर

Posted on: 07 May, 2017

बैशाख २४, रोल्पा । पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् । 

जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा आउन सार्वजनिक सञ्चारमाध्यमबाट सूचना प्रकाशित गरेको भए पनि हालसम्म कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा नआएको जिल्ला शिक्षा अधिकारी, चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

कार्यालयले गरेको आग्रहलाई अटेर गरी जबर्जस्ती ट्युसन सेन्टर सञ्चालन गर्नेउपर कानुनी कारबाही गरिने पौडेलले बताउनुभयो । 

कानुन विपरीत मनोमानी ढङ्गले सञ्चालनमा आएका यस्ता ट्युसन सेन्टरले कुनै मापदण्डबिना नै आफूखुसी शुल्क उठाउँदै गरिब विद्यार्थीको ढाड सेक्ने काम गरेको विद्यार्थीले आरोप लगाएका छन् । 

केही दिनअघि जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले निजी विद्यालयले मनोमानी ढङ्गले वृद्धि गरेको शुल्क घटाउनु पर्ने, गैरकानुनी ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउनु पर्नेलगायतका माग राखी आन्दोलनमा उत्रिएका थिए । 

जिल्ला शिक्षा कार्यालय, रोल्पा विद्यार्थीका ती माग पूरा गर्न सहमत भएपछि आन्दोलन स्थगित भएसँगै जिल्ला शिक्षा कार्यालयले कानुनी दायरामा आउन ट्युसन सेन्टरलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको बताइएको छ । 

जिल्लामा दर्जनौँ ट्युसन सेन्टर अवैध ढङ्गबाट सञ्चालन भइरहेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!