प्रकाश धौलाकोटी, भदौ १६, तेह्रथुम । स्थानीय शान्ति समिति तेह्रथुमको संयोजकमा देउनारायण सम्बाहाम्फे सर्वसम्मत चयन हुनुभएको छ । समितिको सचिवालयमा आज भएको भेलाबाट समितिको निर्देशिका बमोजिम छ–छ महिनामा नेतृत्व परिवर्तन हुनुपर्ने प्रावधान बमोजिम समितिको नयाँ नेतृत्वमा सम्बाहाम्फे चयन हुनुभएको हो ।
सम्बाहाम्फे यहाँ आन्दोलनरत संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । सम्बाहाम्फेलाई आदिवासी जनजातिका तर्फबाट प्रतिनिधित्व गराउँदै समितिको संयोजकमा चयन गरिएको शान्ति समितिका पुर्व संयोजक गोविन्द ढुंगानाले बताउनुभयो । यस अघि दुई कार्यकाल सम्म समितिको संयोजकमा राप्रपाका कार्यवाहक जिल्ला अध्यक्ष शुभभगत प्रधानांग रहनुभएको थियो ।