Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै

By साझासवाल

काठमाडौं | देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। विसं २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।

नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ। त्यसयता सरकारले वि.सं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद-शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ।

राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा वि.सं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ।