साउन २६, राजविराज । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी बढेको छ ।
पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा बुधबार राति विषालु सर्पको टोकाइबाट ७८ वर्षका दुखाइ साहको ज्यान गएको छ ।
सर्पले टोकेपछि समयमै अस्पताल पुर्याउनुको साटो धामीझाँक्रीको भर पर्दा उहाँको ज्यान गएको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डाक्टरले बताएका छन् । घरमा सुतिरहेका बेला साहलाई विषालु सर्पले टोकेको थियो ।
गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रासस