काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग शुक्रबार सर्वोच्च अदालतको इजलासमा बयान लिइँदै छ । त्यसअघि उनलाई सर्वोच्च अदालत परिसरमा हतकडी खोलिएको छ । इजलासमा लैजानु अगाडि मिश्रको हतकडी खोलिएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतमा लैजाँदा मिश्रलाई हतकडी सहित लगिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइँदैछ ।
उनलाई बिहीबार साँझ पनि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।
आज भने मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।