पढ्न करिब 2 मिनेट लाग्छ

भदौ २०, जाजरकोट। आफ्नो मान्छेलाई शिक्षक बनाउनुपर्ने अडानका कारण यहाँका दुई विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन ।

छेडागाड नगरपालिका–१२ मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालय र त्रिवेणी नलगाड नगरपालिका–६ पिउलीस्थित जनप्रिय प्राविको प्राथमिक तहको राहत शिक्षक पदका लिइएको परीक्षाको अन्तर्वार्ताका बेला व्यवस्थापन समितिका अध्यक्ष भागेपछि एक महिना बढी समयसम्म पनि शिक्षक नियुक्त हुन नसकेको पीडितको गुनासो छ । शिक्षक पद रिक्त भएको सात महिना बढी भइसकेको छ । परीक्षा लिइएको डेढ महिना हुँदा पनि दलका नेताको हस्तक्षेपले नियुक्ति प्रक्रिया रोकिएको सरोकारवालाको गुनासो छ । आफ्ना मान्छे परीक्षामा उत्तीर्ण नहुने भएपछि दुवै विद्यालयका अध्यक्ष भागेको बताइएको छ ।

मनघाटको चन्द्रज्योति आधारभूत विद्यालयको शिक्षक पदका लागि लिखित परीक्षामा सफल भएर अन्तर्वार्ताका लागि छनोट भएका खिमबहादुर खड्काले अन्तर्वार्ता हुँदाहुँदै व्यवस्थापन समितिका अध्यक्ष देवीराम जैसी कोठाबाट एक्कासि भागेर अहिलेसम्म शिक्षक नियुक्तिको काम पूरा नभएको बताउनुभयो । “साउन ७ गते जिल्ला शिक्षा कार्यालयमै हुने परीक्षाका लागि शुरुमा अन्तर्वार्ता दिने मेरो पालो थियो, मलाई भित्रबाट बोलाएपछि ढोकैमा पुगेको बेला अध्यक्ष जैसी बाहिर निस्केर बेपत्ता भए”, खड्काले भन्नुभयो ।

पीडित खड्काले अन्तर्वार्ता रोकिएकै दिन जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा अन्तर्वार्ता पूरा गरेर नियुक्ति प्रक्रिया टुङ्ग्याउनका लागि आवश्यक कारबाहीको माग गर्दै निवेदन दिइएको बताउनुभयो । निवेदन दिइएको साढे एक महिना हुन लागे पनि कुनै सुनुवाइ नभएको खड्काले गुनासो गर्नुभयो । एउटा व्यक्तिको दबाबको कारणले आफूहरूको परीक्षा रोकिएको र विद्यालयको पठनपाठनमा समेत ठूलो बाधा परेको खड्काको जिकिर छ ।

त्यस्तै जनप्रिय प्रावि पिउलीको राहत दरबन्दीको शिक्षक पदका लागि लिइएको परीक्षामा पनि लिखित परीक्षा सकिएर मौखिक परीक्षा हुँदाहुँदै व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर विक भागेपछि अहिलेसम्म शिक्षक नियुक्ति हुन नसकेको पीडित मनोद शर्माले बताउनुभयो । उहाँले गत असार ११ गते लिखित परीक्षा सकेर मौखिक परीक्षा हुँदाहुँदै आफ्नो मान्छे नहुने भएपछि अध्यक्ष जुरुक्क उठेर भागेको बताउनुभयो । उहाँले आफूले शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि उजुरी हालेको तर कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले दुवै विद्यालयलाई चेतावनीसहितको पत्र लेखिएको बताउँदै बारम्बार अटेर गरे दरबन्दी काट्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिनुभयो । रासस