कालिकोटमा भुकम्प दिवसका दिन विभिन्न कार्यक्रम गरिने

Posted on: 05 Jan, 2018

पुस २१, कालीकोट । आउँदो माघ २ गते मनाउन लागिएको राष्ट्रिय भुकम्प दिवसको अवसरमा कालीकोटमा बिभिन्न कार्यक्रम गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले आगामी माघ २ गते मनाईदैँ आएको राष्ट्रिय भुकम्प दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डेलगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमूख,स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले जिल्लाव्यापी रुपमा भुकम्प दिवस मनाउनका लागि विभिन्न कार्यक्रमसहित कार्यविभाजन गरेको छ ।

उक्त दिवसका अवसरमा भुकम्पीय सुरक्षा सम्बन्धि र्याली, सभा समारोह, सामुहिक प्रतिबद्धता, रेडियो मार्फत सार्वजनिक सुचना प्रशारण, सडक नाटक, वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न जनचेतनात्मक कार्यक्रम गरिने बताईएको छ । बैठकमा सहभागी जिल्लाका सरोकारवालाहरुले जिल्लाका हरेक स्थानीय तहमा भवन निर्माण आचारसंहिता कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने, स्थानीयस्तरमा समेत भुकम्प दिवस मनाउन परिपत्र गर्नुपर्ने बताएका छन् ।

‘सवल समुदाय, सवल सरकारः भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नाराका साथ मनाउन लागिएको दिवसका लागि सहायक प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, खाँडाचक्र नगरपालिकालगायत सात सदस्य मुल समारोह व्यवस्थापन उप–समिति समेत गठन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!