खोटाङमा घुम्ति शिविरबाट १५ सय १६ जनालाई नागरिकता

Posted on: 05 Feb, 2018

चिसाङ शेर्पा/माघ २२, खोटाङ । जिल्लाका दुई गाउँपालिकाका १५ सय १६ जनाले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । 

मुलुक संघिय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका बिकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्रका स्थानियले नागरिकता पाएका हुन् ।

गत शनिबारदेखी शुरु भएको घुम्ति शिविरबाट जन्तेढुंगा गाउँपालिकामा ७ सय २७ र बरापोखरी गाउँपालिकामा ७ सय ८९ जनालाई नागरिकता प्रदान गरिएको शिविर संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

आईतबार सम्पन्न शिविरले विभिन्न किसिमका अपाङगता भई नागरिकता पाएका तर, अपाङगता परिचयपत्र नपाएका जन्तेढुंगा गाउँपालिकामा १४१ र बराहपोखरी गाउँपालिकामा ११७ जना गरी २५८ जनाले अपाङगताको परिचयपत्र पाएका छन् । कार्यक्रमकै अवसरमा दुई पालिकाका ५ सय ७३ जनालाई वैदेशिक रोजगार सम्वन्धी परामर्श दिईएको छ । 

जन्तेढुंगा गाउँपालिकामा २ सय ६९ र बराहपोखरी गाउँपालिकाका ३ सय ४ जनाले परामर्श लिएका थिए । आफ्नै घर आँगनमा सुविधा पाउँदा स्थानियहरु हर्षित भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिग्राम बन्जाराले बताए । 

नागरिकता पाउनेमा युवादेखी बयष्कसम्म रहेका थिए । शिविरमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुवन राई, शाखा अधिकृत बाबुराम खत्री लगायतको टोली रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!