पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २५, जाजरकोट | स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए पनि चिकित्सक नहुँदा समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिने गरेको छ । एक्सरेदेखि ल्यावसम्मका सेवा प्रवाह गर्ने भनिएको यो स्वास्थ्य चौकीमा स्थानीयवासीले समयमा उपचारपाउन सकेका छैनन् ।

चिकित्सक नहुँदा यस क्षेत्रमा शव परीक्षणका कामसमेत अवरुद्ध हुँदै आएको छ । जाजरकोट सदरमुकामबाट बारेकोट गाउँपालिकाको लिम्सामा पुग्न दुई दिन लाग्ने गर्दछ ।

साविकका चार गाविसको लागि एउटा मात्र सुविधासम्पन्न भनिएको स्वास्थ्य चौकीमा यस्तो समस्य आउँदा स्थानीयवासी आक्रोषित भएका हुन् । टेलिफोन, विद्युत्, सडक र बैंकजस्ता सुविधा नहुँदा यस क्षेत्रका स्थानीय समस्यामा पर्दै आएका छन् ।

नेपाल खाद्य संस्थानले जाजरकोटबाट समयमै ढुवानी हुन नसक्दा खाद्यान्न समेत अभाव यही क्षेत्रमा भएको छ । रासस