खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, एक घाइते

Posted on: 05 Apr, 2018

 चैत २२ खोटाङ | चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । 

घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी गंगाबहादुर विश्वकर्माले बताउनुभयो । यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

उपचार गराउन लैजानेक्रममा बाटैमा मृत्यु भएका दाहालको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ भने खत्रीको शव ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । 

दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयवासीले बताएका छन् । चट्याङका दृष्टिले खोटाङ अति जोखिममा रहेको मानिए पनि अहिलेसम्म प्रतिरक्षाका लागि कुनै पहल गरिएको छैन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!