पढ्न करिब 2 मिनेट लाग्छ

लोकेन्द्र खनाल/चैत २७ रुकुम | जिल्लाका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने औषधि अभाव भएको छ ।

क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँका स्वास्थ्य संस्थामा औषधि कम हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको गुनासो बिरामीले गरेका छन् ।

अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काे मूल्यमा औषधि किन्न बाध्य छन् । उपचारका लागि गाउँबाट जिल्ला अस्पताल आए पनि नपाएपछि रु दुई हजारभन्दा बढी हालेर निजी मेडिकल सपबाट औषधि किन्न बाध्य भएको त्रिवेणी गाउँपालिका– ७ का थलवीर खड्काले बताउनुभयो । “मैले बिरामीलाई चाहिने सबै औषधि मेडिकलबाट किनेँ”, उहाँले भन्नुभयो, “अस्पतालमा जाँच मात्र भयो, औषधि बाहिरबाट ल्याएँ ।” स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि विपन्न समुदायलाई उपचार लिन समस्या भएको उहाँले बताउनुभयो ।

“अस्पतालमा औषधि छैन”, बाफिकोट गाउँपालिका– ३ की गीता पुरीले भन्नुभयो, “निजी स्वास्थ्य संस्थाबाट औषधि किन्न पैसा छैन ।” जिल्लामा रहेका केही बाँकी औषधि पनि एक हप्तासम्मका लागि मात्र भएको डा सुशील पोखरेलले जानकारी दिनुभयो । “अहिले कसले औषधि खरिद गर्ने भन्ने अन्योल भएको छ” उहाँले भन्नुभयो, “यसले गर्दा बिरामी समस्यामा परेका छन् ।”

जिल्ला अस्पतालमै औषधि अभाव हुँदा यहाँका गाउँगाउँमा रहेका स्वास्थ्यचौकीमा पनि औषधि अभाव भएको छ । मौज्दा औषधि करीब महिना दिअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्यचौकीको भनाइ छ । यहाँ एक जिल्ला अस्पताल, ४१ स्वास्थ्यचौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरुले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेला बेला क्षेत्र र केन्द्रमा जानकारी गराइए पनि औषधिको पूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘स्वास्थ्य सेवा सबैलाई, जहिले पनि, जहाँ पनि’ भन्ने नारा भए पनि नारामै सीमित भएको मुसिकोट–२ का हरिबहादुर खड्काले बताउनुभयो । बिरामीले जहिले र जहाँमा उपचार नपाएको उहाँको गुनासो छ । हाल जिल्ला अस्पताल सल्लेमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको बताइएको छ ।

“अब बिरामी आउने समय हो”, डा पोखरेलले भन्नुभयो, “औषधि चैत महिनासम्म पनि मुश्किल छ ।” यस्तो अवस्थामा औषधि पु¥याउन निकै समस्या भएको उहाँले बताउनुभयो । रासस