२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो

२२ जेष्ठ २०७५, मंगलवार ०४:३९

जेठ २२, बेनी | म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । 

जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे/चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावना रहेको छ । 

म्याग्दीको प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करीब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिने स्थानीय बुद्धिजीवी एवं शिक्षक भद्रबहादुर जिसीले बताउनुभयो । 

गुफाको पूर्वतर्फ करीब ७० मिटरको दूरीमा तत्कालीन कुहँुले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन राजा बस्ने गर्दथे । 

सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिने जिसीले बताउनुभयो । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृंखला र वनजंगलको मनमोहक दृश्य देखिन्छ । 

स्थानीय समाजसेवी क्याप्टेन केशरबहादुर घर्तीका अनुसार सो सुरुङको प्रवेशभाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका–४, सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ । 

सो सुरुङको भित्रितर्फको मध्यभाग दुई तिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको क्याप्टेन घर्तीले बताउनुभयो । “सो ओढारबाट तलतिर जाने अर्को सुरुङ रहेको छ, त्यहाँबाट छिरेको चिज तातोपानी कुण्डको नजिकै रहेको गुफामा निस्कने हुनुपर्छ” क्याप्टेन घर्तीले भन्नुभयो । 

सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने सुरुङ अवलोकनका लागि त्यहाँ पुग्नुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताउनुभयो । 

यस विषयमा इतिहासका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कर्णबहादुर बानियाँले चौबिसे राज्यअन्तर्गत कुहुँमा तत्कालीन समयमा कुनै पनि राजाले राज्य गरेको प्रमाण फेला नपरेको बताउनुभएको छ । 

मगर जातिका तीन मगर — ढुट, काइसे र खाम गरी तीनवटा भाषा प्रचलनमा रहेका बताउँदै बानियाँले म्याग्दीको कुहुँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरैकुरा बाहिर आउन नसकेको जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ