Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

द्वन्द्व हैन, एकता र विकास चाहन्छन् रोल्पालीहरु

By kit 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

कविता उपाध्याय/असार ३, रोल्पा | दशवर्षे सशस्त्र संघर्षको उद्गमस्थलका रुपमा चिनिँदै आएको रोल्पालाई बाहिरबाट हाउगुजीका रुपमा लिइने भएपनि यहाँ आइपुगेपछि आममानिसको दृष्टिकोण फरक हुने गरेको पाइएको छ ।

“रोल्पा दुर्गम, विकट, अप्ठेरो, डरलाग्दो र कठिन पर्यायका रुपमा रहेको आममानिसको बुझाइ छ तर, त्यसो नभएर रोल्पा सुन्दर, मनोरम, पर्यटकीय स्थलका साथै बौद्धिकता र मेहनतको उर्बर भूमिका रुपमा रहेको हामीले पायौँस” भर्खरै सम्पन्न बृहत् साहित्य सम्मेलन–२०७५ का एक सहभागीको अनुभूति हो यो ।

रोल्पा नगरपालिकाको आयोजना तथा जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाको संयोजनमा यही २०७५ जेठ २०, २१ र २२ गते ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूल नाराका साथ सदरमुकाम लिवाङमा बृहत् साहित्य सम्मेलन भयो । साहित्य सम्मेलनको एक हिस्सा थियो राष्ट्रिय कविता प्रतियोगिता । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कवि, कवयत्री तथा साहित्यकारहरुको सक्रिय सहभागिता रह्यो । संघीय संविधान जारी भएपछि नेपालमै पहिलोपल्ट रोल्पामा यस किसिमको बृहत् साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा आएका अतिथिलाई रोल्पा नगरपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको भ्रमणसमेत गराइएको थियो । यसै क्रममा रोल्पाको गुरुङगाउँ, माडीचौर र सातदोबाटोमा अतिथिहरुलाई भ्रमण गराइएको थियो । माडीचौरमा युद्ध साहित्यका बारेमा समीक्षात्मक परिसंवाद पनि गराइएको थियो ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भन्नुभयो – “कलमले समाज परिवर्तनमा उल्लेखनीय योगदान पु¥याउने विश्वासका साथ हामीले देशभरका साहित्यकार तथा पत्रकारहरुलाई प्रतिनिधिका रुपमा जिल्लामा भित्र्याएका हौँ । अब रोल्पालाई हेर्ने आममानिसको मानसिकतामा परिवर्तन ल्याउन र रोल्पालाई पर्यटकीयस्थलका रुपमा विश्वमै चिनाउन जरुरी छ भन्ने हाम्रो ध्येय हो ।”

द्वन्द्वपछि पनि रोल्पालाई हेर्ने आममानिसको दृष्टिकोण नफेरिएको सन्दर्भमा नगरपालिकाको प्रयास सान्दर्भिक र सामयिक छ । उहाँका अनुसार रोल्पा हाउगुजी होइन, रोल्पालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन जरुरी छ भन्ने ठानेर आउँदा दिन रोल्पालाई फरक पहिचानका साथ पर्यटकीय गन्तव्यका रुपमा उजागर गर्न नगरपालिकाले साहित्यिक कार्यक्रमको आयोजना गर्ने पहलकदमी लिएको हो ।

केसीले भन्नुभयो – “विगतमा युद्धको मूल बाटो समातेर परिवर्तनका लागि हिँडेका मानिस र युद्ध ठीक होइन भनेर हिँडेका मानिसहरु सँगै मिलेर कार्यक्रम ग¥यौं । यसले पनि रोल्पा परिवर्तनको मूलधारमा रहेको छ भन्ने प्रष्ट हुन्छ । द्वन्द्वका तुषहरु मेटिएर रोल्पालीमा एकताको विकास भएको छ भन्ने सन्देश दिन कार्यक्रम सफल भएको छ भन्ने हामीले ठानेका छाँै ।”

यस्तै, बृहत् साहित्य सम्मेलनमा अतिथिका रुपमा रोल्पा आइपुग्नुभएका राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक राजु शाक्यले सुनेको रोल्पा र आफूले प्रत्यक्ष अनुभूत गरेको रोल्पामा धेरै फरक भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो – “रोल्पालाई सम्झँदा मैले केही असहज र भयको महसुुस गर्ने गर्थे । त्यही भूमिमा टेकेपछि भने त्यो सोच बदलिएको छ ।”

रोल्पामा क्रान्तिकारिताको कुरा गर्ने, राजनीतिक दर्शनमा बहस गर्ने धेरै नै होलान् भन्ने सोच बनाएर बस्नुभएका उहाँ साहित्य र साहित्य सिर्जनालाई आफ्नो प्रतिभा ठान्ने र त्यसमा गर्व गर्नेहरु धेरै देखेर अचम्म मान्नुहुन्छ ।

उहाँले भन्नभयो – “जनयुद्ध अपरिहार्य थियो भन्नेहरुबाट अब त नेता भ्रष्टीकरणमा गए भन्ने आलोचना पनि सुनेँ । नेताहरुको व्यवहारले धेरैलाई विरक्त बनाएको रहेछ । विगतको घाउलाई कसैले कोट्याउने र दुःख मनाउ गरेको पाइनँ । जो जोसँग बोलेँ उनीहरु ‘जे भयो भयो बिर्सिनु बेस अब मिलेर अघि बढ्नुपर्छ’ भन्ने पाएँ ।”

साहित्य सम्मेलनका अर्का सहभागी मधुपर्क मासिकका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले विगतमा रोल्पा जिल्लालाई माओवादी आन्दोलनको केन्द्रका रुपमा बुझिँदै आएको बताउनुभयो । रोल्पाबाट फर्केपछि कोइरालाले भन्नुभयो – “सन्त्रासको विम्ब बनेको लिवाङले आफ्नो पुरानो विम्बलाई मेटाउन गर्दै आएका पहलअन्तर्गत बृहत् साहित्य सम्मेलन पनि एक हो भन्ने मैले बुझेको छु । रोल्पा जिल्ला राजनीतिमा जे जस्तो अवस्थामा भए पनि समग्र जिल्लाको विकासका लागि सम्पूर्ण रोल्पावासी एक छौँ भन्ने भावना कार्यक्रममा देखियो ।”

उहाँको अनुभवमा रोल्पालीहरु असाध्यै सोझा, मिलनसार र विकासप्रेमी छन् । उहाँले भन्नुभयो – “कतिपय कुराहरु भ्रमका रुपमा फैलिएका हुन्छन्, भ्रमलाई मेट्न आफ्नै आँखाले हेर्नुपर्छ । हो, हामीले यसपालि रोल्पालीको एकता, विकासप्रेम र अपनत्वलाई आत्मसात् गर्ने अवसर प्राप्त ग¥र्यौं । असाध्यै राम्रो कार्यक्रम सम्पन्न भयो । नौ सय ७० जनाको शहादत र कैयौँको बेपत्ताको जगबाट उठेर सुन्दर रोल्पाको निर्माणमा रोल्पाली जुटेका छौँ भन्ने सन्देश रोल्पाले बाँडेको छ ।”

साहित्य सम्मेलन आयोजना गरेर रोल्पालीहरु भनिरहेका छन् ‘हामी अब विगतलाई सम्झन चाहँदैनौँ, गणतान्त्रिक नेपालको पुनःनिर्माणमा जुटिसकेका छौँ ।

रोल्पाली स्रष्टा दामु मर्सिफुलका अनुसार रोल्पाको सामाजिक र सांस्कृतिक पहिचानले गर्दा पनि रोल्पालाई रोल्पा भनी गर्व गर्ने वातावरण सिर्जना भइरहेको बताउनुहुन्छ । रोल्पामा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । यसका साथै रोल्पालाई विगतमा युद्ध झेलेको एक नमूना पर्यटकीय स्थलका रुपमा विकास गरी पर्यटनमा नयाँ आयाम थप्न सकिन्छ । यसका लागि रोल्पालीको एकता अपरिहार्य भएको उहाँ बताउनुहुन्छ ।

विभेदरहित समाज बनाउन विगतमा द्वन्द्वमा प्रत्यक्षतः होमिनुभएका पूर्व माओवादी योद्धा क्षितिज मगरसँग विगतप्रति कुनै गुनासो छैन । उहाँ सन्तोष मान्दै भन्नुहुन्छ – “क्रान्तिमा होमियो । समयले मागे अनुसार मेरो भूमिका रह्यो ।” क्षमता भएर पनि सेना समायोजनमा नपरेकामा उहाँलाई दुःख लाग्छ । अहिले ठेकेदारीको काम सम्हालेर आफूजस्तै साथीहरुलाई रोजगार दिनु पर्ने र परिवार धान्नुपर्ने उहाँलाई बाध्यता छ तर, विगतप्रति कुनै पश्चाताप छैन ।

रोल्पा नगरपालिकाले साहित्यिक कार्यक्रममार्फत लिवाङलाई देशका अन्य भागसँग जोड्न गरेको प्रयास प्रशंसनीय छ । यो कार्यक्रमले रोल्पाली जनताको एकता सन्देश देशभर फैलाउन सकेको त छ नै यहाँको प्राकृतिक सौन्दर्य र संभावनाप्रति धेरैको ध्यान आकृष्ट गर्न पनि सफल छ । रासस