प्रभात सुवेदी । असार २४, बर्दिया ।

बर्दियाको उत्तरपूर्वी क्षेत्र बाँसगढी र पश्चिमी क्षेत्र राजापुरबाट दुई कलमजिबी र आवाज संवाहक आज बर्दियाको गुलरियामा सम्मानित भएका छन् ।

विगत दुई दशकदेखि सञ्चारमाध्यममा सक्रिय रहेर समाजमा जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेवापत रेडियोकर्मी एकराज चौधरी तथा विगत एक दशकदेखि सक्रिय पत्रकारिता गरेका राजापुरका पत्रकार गान्दिपलाल कायस्थ नागरिक शहिद गोविन्द पाण्डेको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

जिल्ला सदरमुकाम गुलरियामा आयोजित विशेष समारोहमा प्रदेश उपसभामुख कृष्णी थारु, प्रदेश सांसद तिलक शर्मा हिमाल, जिल्ला समन्यव समिति अध्यक्ष शंकर प्रसाद थारुले संयुक्त रुपमा वहाँहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा नगद पाँच हजार सहित सम्मानित गर्नुभएको हो ।

सम्मानित सञ्चारकर्मीमध्ये एकराज चौधरी हाल रेडियो गुर्वावामा आवद्ध हुनुहुन्छ भने गान्दिपलाला कायस्थ भने कोठियाघाट साप्ताहिकका प्रकाशक तथा सम्पादक हुनुहुन्छ ।

प्रेस चौतारी बर्दिया शाखाले स्थापना गरेको यो पुरस्कारको गत वर्ष र यस वर्षको दुबै संस्करणको पुरस्कारहरु यसै वर्ष प्रदान गरिएको बताउनुहुँदै अध्यक्ष डिल प्रकाश गौतमले आगामी ३ वर्षभित्र अक्षयकोष पाँच लाख पुर्याएर पुरस्कारलाई प्रदेश स्तरीय बनाउने र ५ वर्षभित्र दश लाखको अक्षयकोषको स्थापना गरी राष्ट्रियस्तरकै पुरस्कारको रुपमा स्थापित गर्ने महत्वाकांक्षी योजना रहेको बताउनुभयो ।

कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का अध्यक्ष प्रतापकुमार गौतमलाई अक्षयकोषको रकम वृद्धि गर्नका लागि उल्लेख्य भूमिका खेलेकोमा सम्मानित गरिएको थियो भने जिल्ला कृषि विकास कार्यालयका प्रमुख पर्शुराम रावतलाई वहाँको कार्यकालमा प्रभावकारी कार्यसम्पादन भएकोमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा उपस्थित हुनुभएकी प्रदेश उपसभामुख कृष्णी थारु, प्रदेश सांसद तिलक शर्मा हिमाल, ने.क.पा. का जिल्ला नेता हरि ज्ञवाली, गुलरिया नगरपालिकाका वडाअध्यक्षहरु तथा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले आ–आफ्ना विचारहरु राख्नुभएको थियो ।

प्रेस चौतारी बर्दियाका अध्यक्ष डिल प्रकाश गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टरका अध्यक्ष मेनका चौधरीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रेस चौतारी बर्दियाका सचिव यज्ञ प्रसाद सापकोटाले गर्नुभएको हो ।

Related News