पढ्न करिब 1 मिनेट लाग्छ

प्रेम सुनार | साउन २०, बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ ।

मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छ वर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।

त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । मृतक अन्य २ जनाको सनाखत भएको छैन ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् ।