२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पढ्ने धोको पूरा भएकामा दंग छन् बेनीका आमाहरु

२०७५, २५ श्रावण शुक्रबार १०:१५

कमल खत्री | साउन २५, बेनी | बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । 

सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी छिन् । अक्षर र अंकसमेत नचिन्दा विगतमा उनको दैनिकी असहज तवरले बितेको थियो । विद्यालयमा पढ्न थालेपछि विस्तारै उनी अंक र अक्षर पढ्न सक्ने भइन् र अहिले खुशी छिन् । 

उनले भनिन् – “सानो हुँदा विद्यालय कस्तो हुन्छ र शिक्षा के हो भन्ने पत्तै भएन । घाँस र दाउरा गर्दागर्दै विवाह भयो । बालबच्चा भए । आफूले नपढे पनि उनीहरुलाई पढ भनेर गाली गरियो । बल्ल यो उमेरमा आएर मेरो पढ्ने धोको पूरा भयो ।” 

यस विद्यालयमा अहिले ७५ जना आमाले अध्ययन गरिरहेका छन् । घाँस, दाउरा र भान्सामा सीमित महिलाहरु बाल्यकालमा विविध कारण अध्ययनबाट वञ्चित भए पनि यतिबेला कापी र कलम बोकेर विद्यालय पुग्न थालेका छन् । पढ्ने रहर हुँदाहुँदै पनि अवसर नपाएका उनीहरु शिक्षा लिन उमेर हैन इच्छाशक्ति चाहिँदो रहेछ भन्ने उक्तिलाई पच्छ्याइरहेका छन् । 

उज्यालो वैकल्पिक विद्यालय स्थापनादेखि नै पढाइ शुरु गरेकी रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई २०५३ सालदेखि बसाइँ सरेर सदरमुकाम बेनीको कालीपुलमा बस्दै आएकी ५५ वर्षीया भुनु तिलिजाले पनि पढ्न शुरु गरेकी छिन् । पढ्न थालेपछि जीवनमा धेरै परिवर्तन आएको अनुभूति उनले गरेकी छिन् । 

आमा समूह, विभिन्न संघसंस्था, उपभोक्ता समितिलगायतमा क्रियाशील रहेकी तिलिजाले सानो छँदा अध्ययन गर्ने अवसर पाएनन् । वैकल्पिक विद्यालय खुलेसँगै साक्षर बन्ने अवसर पाएको उनी बताउँछिन् । “सानो छँदा विद्यालय नगइकन घरमा बुवाआमालाई घाँस दाउरा र भान्सामा काम गरेर खुशी बनाइयो, विभिन्न संघसंस्थामा लागेपछि भने ठक्कर लाग्यो,” उनले भनिन् – “अनि हामीहरु जस्तै निरक्षरहरुले पढ्ने विद्यालय खोल्नेबारे छलफल चलायौँ । विद्यालय पनि खुल्यो । अहिले ८ कक्षामा पढ्दै छु ।” 

यो उमेरमा आएर पढ्ने रहर साकार भएकामा उनी मख्ख छिन् । 

विसं २०७२ मा प्रौढ महिलालाई लक्ष्य गरी बेनीमा सञ्चालन गरिएको यस विद्यालयमा सानो छँदा बाध्यता र विवशताले पढ्ने रहर अधुरै भएका आमाहरु अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा अध्ययन गर्ने महिला बिहान घरको काम भ्याएर छोराछोरीलाई विद्यालय पठाउँछन् र आफूहरु ११ बजे विद्यालयमा हाजिर हुन्छन् । दिउँसोको समयलाई अध्ययनमा उपयोग गर्ने गरेका उनीहरुमध्ये कतिपय दूधे बालबच्चालाई काखैमा च्यापेर समेत विद्यालय आउँछन् । 

कक्षा ३ मा पढिरहेकी बेनी निवासी ५६ वर्षीया हेमकुमारी रेग्मीले बूढेसकालमा नातिनातिनाका दांैतरीहरुसँग पढ्न पाउँदा बाल्यकालका रहरहरु पूरा हुँदै गएको अनुभव सुनाइन् । नबिराई विद्यालय जाने र शिक्षकहरुले दिएको गृहकार्य गर्ने बानीले लेखपढमा रुची जागेको अध्ययनरत आमाहरु बताउँछन् । 

कक्षा १, ३, ५, ७, ८ कक्षाको पठनपाठन हुने यस विद्यालयमा अधिकाँश विद्यार्थी ४० वर्षदेखि ६० वर्ष उमेरका छन् । कक्षा १ मा ५ जना, ३ मा ११ जना, ५ मा २२ जना, ७ मा २१ र ८ मा १५ जना आमा यहाँ पढिरहेका छन् । आमाहरुलाई पढाउने शिक्षक सञ्जय शर्मा भन्छन् – “आमाहरु नियमित रुपमा विद्यालय आउँछन् । दिएको गृहकार्य बोकेर आउँछन् । वास्तवमै उनीहरुको सिकाइ उपलब्धिपूर्ण छ ।” 

आमाहरुलाई पढाउँदा शिक्षक भन्दा पनि छोराछोरीको जिम्मेवारी पूरा गरेजस्तो लाग्दो रहेछ उनलाई । उनी भन्छन् –“उनीहरुको लगन र मेहनत हेर्दा पढाइमा उमेर भन्दा पनि इच्छाशक्ति ठूलो रहेछ भन्ने महसुस हुन्छ ।” 

आफ्नो दैनिकीलाई घरायसी काम र घाँस दाउरा गर्न मै बिताएर शिक्षा के हो भन्ने भेउसम्म नपाएका उनीहरुले विद्यालयमा आएर अँगे्रजी र नेपालीमा लेखपढ गर्न थालेपछि आफूहरुको जीवनको परिभाषा फेरिएको बताउन थालेका छन् । समाजमा पढ्ने धोको अधुरै रहेका महिलाहरुलाई साक्षर बनाउन खोलिएको यस विद्यालयमा ६ जना शिक्षक छन् । 

शिक्षकको तलब, घरभाडा लगायतका खर्च जिल्ला शिक्षा समन्वय एकाई र विभिन्न संघसस्थाको सहयोगमा जुटाउँदै आएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । 

अध्यक्ष केसीले भने – “हामीले जे उद्देश्य राखेर विद्यालय सञ्चालन गरेका हौँ त्यो आज सार्थक हुँदै गएको छ तर, अध्ययन गर्न आउनेहरुलाई सरल र सहज रुपमा पूर्वाधार तयार गरी सुविधा दिन भने सकिरहेका छैनौँ ।” पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षा दिन आफूहरु प्रयासरत रहेको पनि उनले बताए । 

तत्कालीन जिल्ला शिक्षा कार्यालयले यस विद्यालय सञ्चालनका लागि रु ३ लाख बजेट उपलब्ध गराएको थियो । अहिले बेनी नगरपालिका ७ र ८ नं वडाले यहाँको खर्च व्यवस्थापनमा सहयोग गर्दै आएको छ तर, त्यसले धान्न मुश्किल भइरहेको छ । अपुग खर्चलाई व्यवस्थापन समिति, सामाजिक संघसंस्था र दाताहरुको सहयोगबाट जुटाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला