पढ्न करिब 2 मिनेट लाग्छ

साउन ३०, नवलपरासी | गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन ।

द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो ।

यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेखि हालसम्म ऋण लगानी शून्य रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाका प्रबन्धक केशवकान्त पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार राष्ट्रिय वाणिज्य बैंकको नियमानुसार रहेर ऋण माग गर्नेको सङ्ख्या निकै कम आउने र माग गरेपनि नियमभन्दा बाहिर रहेर माग गरिएकाले ऋण लगानी नभएको र हालसम्म शून्य रहेको छ ।

बैंकको उद्देश्यअनुसार प्राप्त औद्योगिक क्षेत्र नहँुदा ऋण माग गर्नेको सङ्ख्या छैन । यस बैंक विशेष गरी पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६, ७, पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका सेवाग्राहीलाई पायक पर्ने स्थानमा छ ।

समयसापेक्ष आवश्यकतालाई महशुस गरी उचित स्थान वा बजारमा यस बैंकको शाखा कार्यालय नहँुदा बैंकको गतिविधि र काम अन्य शाखाको तुलनामा निकै कम रहेको शाखा प्रबन्धक पौडेलको भनाइ छ ।

यस बैंकमा निकै भीड हुने सिजन जेठ, असारमा पनि दैनिकरुपमा ३० देखि ४० जना र अन्य समयमा २० देखि ३० जनासम्म मात्र सेवाग्राही आउने गरेका छन् । यस बैंकमा चार जना कर्मचारी रहेका छन् । रासस