2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा मुख्य विषय पढाउने शिक्षक पाउन छाडे

कमल खत्री | असोज २२, बेनी | रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन÷प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् । 

रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान विषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलनमै उत्रनुपर्ने अवस्था सिर्जना भयो । एसइई परीक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर विषयको पठनपाठन लामो समयदेखि हुन नसकेपछि विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गर्न बाध्य भए । 

यी प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लामा विज्ञान, गणित, कम्युटर सँगै अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरुको अभावले पठनपाठन प्रभावित बन्दै आएको छ । जिल्लाको ग्रामीण भेगमा रहेका एक दर्जन भन्दा बढी सामुदायिक विद्यालयको मावि तहमा विज्ञान शिक्षकको अभाव छ । एसइई परीक्षा नजिकिरहेको र शैक्षिक सत्रको आधा समय बितिसकेको अवस्थामा विज्ञान लगायतका मुख्य विषयको पढाइ नै शुरु नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । 

गत जेठमा विज्ञान विषय अध्यापन गराउने शिक्षक सरुवा भएर गएपछि नयाँ शिक्षक नराखिँदा आफूहरु मुख्य विषयकै अध्ययनबाट वञ्चित हुनुपरेको अमर माविमा अध्ययनरत कक्षा १० की छात्रा सम्झना थापाको गुनासो छ । “हामीले निरन्तर विज्ञान विषयको शिक्षकको व्यवस्था गर्न विद्यालयलाई भनिरहेका छौँ तर, अहिलेसम्म १ पाठको मात्रै पठाइ भएको छ, कतै अध्ययन नै नगरिकन परीक्षा दिन त पर्ने होइन भन्ने चिन्ता थपिएको छ” – उनले भनिन् । 

चिमखोलामा मात्रै होइन ग्रामीण भेगमा रहेका मावि तहका विद्यालयमा मुख्य विषयका विषयगत शिक्षकको अभाव छ जसका कारण हरेक वर्ष कुनै न कुनै विद्यालयका विद्यार्थीहरुलाई पूरै अध्ययन नसकिकनै परीक्षा दिनुपर्ने बाध्यता आइलाग्छ । विज्ञान, गणितजस्ता मुख्य विषयमा पटक पटक विज्ञापनमार्फत आह्वान गर्दा समेत शिक्षक नपाउने समस्या भएपछि ग्रामीण भेगका सामुदायिक विद्यालयहरु हैरानीमा छन् । 

मावि तहमा विज्ञान र गणित विषयको शिक्षक अभाव रहेकाले तल्लो तहमा पढाउँदै आएका शिक्षकहरुलाई नै अध्यापन गर्न लगाउनुपर्ने बाध्यता रहेको ज्ञानोदय माविका प्रअ सुवेदीले बताए । प्रअ सुवेदीले भने – “शिक्षक पाउनै मुश्किल छ, पटक पटक सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाउन सकेका छैनौँ, तहअनुसार विषयगत शिक्षक उपलब्ध नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष असर परिरहेको छ ।” 

शिक्षक सेवा आयोगमार्फत आउने शिक्षकहरु बाहिर जिल्लाका हुने र उनीहरु अधिकाँश ६ महिनादेखि १ वर्षसम्म मात्रै बसेर सरुवा भएर जाने चलन छ । यो समस्याको समाधान नखोजिँदा विद्यालयहरुमा जनशक्तिको चर्को अभाव हुने गरेको छ । रिक्त दरबन्दीमा करारमा नियुक्त गर्न प्रक्रियागत झण्झट त छ नै, योग्य र शिक्षण अध्यापन अनुमतिपत्र भएका व्यक्तिहरु पाउनै पनि मुश्किल छ । 

जिल्लामा विज्ञान, गणित, कम्प्युटर र अङ्ग्रेजी विषयका शिक्षकहरुको अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । मुख्य विषयहरुमध्ये विज्ञान र गणितका शिक्षकको अभाव ठूलो मात्रामा रहेको इकाई प्रमुख दलबहादुर थापाले बताए । थापाका अनुसार शिक्षक अनुमतिपत्रको परीक्षामा उत्र्तीण दर घट्दो छ । विज्ञान सङ्काय अध्ययन गरेकाहरुका लागि परीक्षा अव्यावहारिक हुनाले योग्यता पुगेकाहरु पनि अनुमतिपत्रविहीन छन् । योग्यता भएर पनि अनुमतिपत्र नहुँदा शिक्षक अभावको समस्या छ । 

अनुमतिपत्र नभएकै कारण विज्ञान विषयका शिक्षकहरु पाउन मुश्किल पर्ने गरेको सर्वोदय मावि भुरुङ तातोपानी स्रोत केन्द्रका स्रोत व्यक्ति जयराम सुवेदी बताउँछन् । शिक्षक खोजीका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु भौँतारिरहनुपर्ने बाध्यता रहेको छ । दरबन्दीमा शिक्षक नियुक्त गर्न अनुमति लगेका विद्यालयहरुलाई पनि शिक्षक पाउन महिनौँ लाग्ने गरेको छ । कतिपय विद्यालयले ६ देखि ७ महिनासम्म पनि कुर्नुपर्ने स्थिति आएको छ । यहाँ शैक्षिक जनशक्ति अभाव रहँदा धेरै टाढाका जिल्लाहरुबाट जसोतसो शिक्षकहरु ल्याउनुपर्ने बाध्यता छ । 

मुख्य विषय अध्ययनप्रति चासो घट्दै 

जिल्लामा उत्कृष्ट विद्यार्थीहरु नबस्ने प्रचलनले निकट भविष्यमा योग्य शैक्षिक जनशक्तिको अभाव झनै चर्केर जाने खतरा देखिएको छ । कक्षा ११ देखि क्याम्पससम्म नै मुख्य गणित, विज्ञान, अङ्ग्रेजी जस्ता मुख्य विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या क्रमशः घट्दै गइरहेको छ । विज्ञान सङ्कायमा हाल बेनीस्थित प्रकाश माविमा कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ । 

एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु पोखरा, काठमाडौँ लगायतका ठाउँमा जाने र अध्ययन पछि पनि उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने प्रचलन बढ्दो छ । जिल्लाभित्र रहेका शैक्षिक संस्थाहरुमा मुख्य विषय अध्ययन गर्ने विद्यार्थी घट्दै जाने र बाहिर अध्ययन गर्न गएकाहरु नफर्कने स्थिति कायमै रहे यहाँ योग्य शैक्षिक जनशक्तिको अभाव थप बढ्ने म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । 

विगतमा उत्कृष्ट विद्यार्थीहरु मुख्य विषयहरु अध्ययन गरी शिक्षण पेशामा लाग्न रुची राख्थे । अहिले अब्बल विद्यार्थीहरुको रोजाइ शिक्षणतर्फ छैन । भविष्यमा यस जिल्लाको शैक्षिक क्षेत्रको नेतृत्व गर्ने योग्य जनशक्ति नभइदेला कि भन्ने त्रास उत्पन्न गराएको सुवेदी बताउँछन् । उनका अनुसार म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्ला वर्षहरुमा गणित र अङ्ग्रेजी विषय लिएर अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दो छ । क्याम्पसले गणिततर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालाहरुसँग अन्तक्र्रियात्मक छलफल नै शुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ