दाङमा औषधिको अभाव

Posted on: 07 Nov, 2015

सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधीहरुको अभाव हुँदै गएको छ । लामो समयदेखिको नाकाबन्दीको कारण भारतबाट औषधी भित्रिन नपाएपछि अभाव भएको हो । औषधी अभावसँगैै बिरामी रिफर बढेको र ईमरजेन्सी उपकरण सञ्चालन लगायतमा समस्या भएको बताइएको छ । भारतबाट आउने औषधि आउन नसक्नु र नेपालमा उत्पादन हुने औषधि पनि कम मात्रामा रहेकाले औषधिको अभाव भएको औषधि व्यवसायीहरु बताउँछन् । तुलसीपुरको गुप्ता मेडिसिनले विगत तीन महिनादेखि भारतबाट औषधि आयात हुन नसक्दा औषधीको चरम अभाव भएको जनाएको छ । मेडिसिनका एमविए मनोज गुप्ताका अनुसार इन्जक्सन आइटमको कुनैपनि औषधि हाल बजारमा उपलब्ध छैन । एन्टिवायोटिक इन्जेकसन, सलाइन पानी लगायतका धेरै औषधिको अभाव रहेको उनले बताए ।

ausadi भारतीय उत्पादनका कुनैपनि औषधि आफ्नो मेडिसिनमा अहिले नरहेको उनले बताए । उनले भने ‘माग धेरै छ तर, औषधि आउँदैन, यस्तै अवस्था रहे अबको केहि दिनमै मेडिकल बन्द गर्नुपर्ने अवस्था आउने छ ।’ एमविए मनोज गुप्ताले दाङमा भारतीय औषधिले ६० देखि ७० प्रतिशत बजार ओगटेको जानकारी दिए । तर भारतीय औषधी तीन महिनादेखि भित्रिन नसक्दा हालसम्म स्टक औषधीले काम चलेको भएपनि अझै यो क्रम लम्बिदै जाने हो भने अब व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले जानकारी दिए । ‘माल मगायो कहिँबाट आउँदैन, तुलसीपुरमा औषधि आउने भनेको नेपालगञ्ज र बुटवलबाट हो तर, त्यहाँपनि औषधि नपाइएकोले यहाँ औषधिको अभाव भएको हो ।’ नाम उल्लेख नगर्ने सर्तमा एकजना व्यवसायीले भने ‘बिरामीको चाप बढ्दो छ, अत्यावश्यक औषधी रित्तिदै गएको छ, अब मेडिकल कसरी सञ्चालन गर्ने भन्ने चिन्ता थपिएको छ ।’ राप्ती अञ्च अस्पताल तुलसीपुुरमा पनि औषधि अभावले बिरामीको उपचारमा समस्या भएको छ । नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराउने केही र बिरामीले किन्नुपर्ने धेरै औषधिको अभाव भएको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

अस्पतालमा बिरामीका लागि अति आवश्यक पर्ने अक्सिजन, एनएस सलाइन र प्रसुति सेवामा आवश्यक पर्ने औषधि तथा अन्य सामानहरुको अभाव भएको अस्पतालकी नर्सिङ निरीक्षक रमा पराजुलीले बताईन् । राप्ती अञ्चल अस्पतालमा अक्सिजन र सलाइन पानीका साथै अन्य अति आवश्यकीय औषधि हाल नगन्य मात्रामा रहेको नर्सिङ निरीक्षक पराजुलीले जानकारी दिइन् । यो अवस्था कायमै रहे दुइ÷चार दिनमै औषधिको चरम अभाव हुने उनले जानकारी दिइन् । अस्पतालले अक्सिजनका साथै एनएस सलाइन पानी धेरै पहिलेदेखि माग गरेको भएपनि अभावका कारण आउन नसकेको जानकारी मात्रै दिने गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अञ्चल अस्पतालमै सञ्चालन भइरहेको साझा स्वास्थ्य सेवाले पनि केही दिनदेखि तुलसीपुरमा औषधीको अभाव भएको जनाएको छ । साझा स्वास्थ्य संस्था तुलसीपुरका इञ्चार्ज मन आचार्यले पे्रसर, सुगर, थाइराइड र अप्रेसनका लागि आवश्यक पर्ने सामग्रीको अभाव भएको जानकारी दिए । नेपाल औषधीमा समेत परनिर्भतामा रहेकोले नाकाबन्दी पछि औषधी नआउँदा अभाव भएको आर्चायले बताए । साझा स्वास्थ्य संस्थामा पनि भारतमा उत्पादित कुनैपनि औषधी नरहेको उनले जानकारी दिए । बिरामीहरुलाई आफूहरुले विकल्पका रुपमा अन्य नेपाली औषधि दिएर काम चलाउँदै आएको उनले बताए ।

यसैबीच नाकाबन्दीका कारण औषधी अभाव हुँदै गएको राप्ती उपक्षेत्रीय अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रताप पोखे्रेलले बताएका छन् । अस्पतालमा औषधी अभावसँगैै बिरामी रिफर बढेको र ईमरजेन्सी उपकरण सञ्चालन लगायतमा समस्या भएको पोख्रेलको भनाई छ । लामो समयदेखिको नाकाबन्दीले औषधीको अभाव हुँदै गएको र बिरामी रिफर बढ्दै गएको, प्रसूति सेवा र उपकरण सञ्चालनमा समस्या देखिएको छ’ उनले भने । प्रसुतिका बिरामीका लागि आवश्यक औषधीको अभाव सुरुसँगै समस्या देखिएकाले नाकाबन्दीले प्रत्यक्ष प्रभाव पारेको बताएका छन् । लामो समयसम्मको नाकाबन्दी र ईन्धन अभावले जिल्लामा औषधीजन्य वस्तु अभाव भएसँगै उपचारार्थ बिरामीको स्वास्थ्य अझै समस्याग्रस्त बन्दै गएको पोख्रेलले जानकारी दिएको छन् । ‘अस्पतालमा औषधीको अभाव हुँदै गएको, नाकाबन्दको बन्द छ, स्वास्थ्य जाँच गराउन आउने बिरामीहरुलाई त्यत्तिकै फर्काउनु पर्ने बाध्यता भएको छ’ पोख्रेलले भने । जिल्ला जनस्वास्थ्य दाङका अनुसार जिल्लामा नाकाबन्दीका कारण औषधीजन्य वस्तुको अभाव हँुदै गईरहेको छ । नाकाबन्दीको कारण स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुँदै गएपछि प्रभावित बनेको बताएको छ ।

नाकाबन्दीका कारण जिल्लामा औषधीजन्य वस्तु आपूर्तिमा सहज नहुँदा स्वास्थ्य सेवाहरु प्रभावित बनेका छन् । जिल्ला जनस्वास्थ कार्यालय दाङका प्रमुख भुवन पौडेलका अनुसार जिल्लामा नाकाबन्दीका कारण औषधी अभावसँगै स्वास्थ्य प्रभावित बनेको बताएका छन । नाकाबन्दीले दीर्घरोगका बिरामीलाई झन समस्या भएको पौडेलले बताए । दैनिकरुपमा खानुपर्ने औषधी अभाव भएकोले दीर्घरोगका बिरामीको स्वास्थ्य अझै कष्टकर बन्दै गईरहेको र औषधी अभाव चुलिदै गएकाले नाकाबन्दीका कारण स्वास्थ्य सेवा क्षेत्रमा प्रत्यक्ष मारमा परेको बताएका छन् । साझा स्वास्थ्य सेवाका अनुसार नाकाबन्दीले ईमरजेन्सीका लागि आवश्यक औषधी अभाव देखिएको बताएको छ ।

जल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार दाङमा एन्टीभाईटिक अन्तर्गत फुलपनाजोल, डाईकोफेनल, अलप्रानाजोल, सालप्रामोल, प्रोमेटजिण भाईरेक्स र टारोकोल अभाव भएको छ । साझा स्वास्थ्य सेवा घोराहीका उत्तम पाण्डेका अनुसारले दैनिक रुपमा एन्टीभाईटिक औषधी बढी खपतसँगै अभाव सुरु भएको जानकारी दिएका छन् । पाण्डेका अनुसार बचत रहेको औषधीले अबको केही दिनसम्म धान्ने भए पनि अति आवश्यक औषधीको अभाव भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!