सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिए...

Posted on: 27 Nov, 2015

सन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । मालपोत कार्यालय दाङमा सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिएको पाइएको छ । कार्यालयले सूचना प्रवाहको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीहरु अलमलिएको देखिएको छ ।

यस्तै कार्यालयमा सम्बन्धित फाँट देखिने गरी लेखिएका बोर्डहरु व्यवस्थित छैनन् । जसका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । उता कार्यालयले भने दर्ता फाँटमै सेवाग्राहीहरुले सोधपुछ गर्न सकिने गरी व्यवस्था मिलाइएको बताउँछ । मालपोत कार्यालयमा सूचना अधिकारीको जिम्मेवारी भुपेन्द्र देवकोटालाई दिइए पनि दर्ता फाँटमा पनि सोधपुछ गर्न सकिने कार्यालयले बताएको छ ।

यस्तै, दुई वर्षअघि कार्यालय परिसरमै निर्माण थालिएको बैंक काउण्टर बजेट अभावका कारण अलपत्र परेको कार्यालयले बताएको छ । कार्यालयमा संकलन भएको राजश्व बैंक काउण्टरमा संकलित गर्ने उद्देश्यले निर्माण थालिएको बैंक काउण्टर बजेट नभएर रोकिएको छ ।

जसका लागि केन्द्रमा १ लाख ११ हजार ४ सय ४५ रुपैयाँ बजेट माग गरिएको मालपोत कार्यालयका प्रमुख लालमणी ओझाले जानकारी दिए । अहिले निर्माण कार्य रोकिएको छ ।

यसैबीच तामेलीहरु फाइलमा अव्यवस्थित हुँदा सेवाग्राहीहरुले ढिलासुस्ती भएको बताएका छन् । राजिनामा लिखत पास भएका हजारौ तामेलीहरु फाइलिङ सिस्टमबाट नराखिँदा सेवाग्राहीहरुलाई सेवाप्रवाहमा अफ्ठेरो हुने गरेको छ । काम धेरै हुने कार्यालय भए पनि बजेट थोरै आउने गरेको उनले जानकारी दिए ।

गत साउनदेखि कार्तिकसम्म ४ सय ८७ वटा कम्प्यूटर प्रणालीमार्फत् पुर्जा बितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका प्रमुख ओझाले अबको केहि समयमै मालपोत कार्यालय लमहीमा पनि रहने जानकारी दिए ।

त्यसका लागि केन्द्रमा छलफल भइरहेको उनको भनाइ छ । कार्यालयले चौमासिक रुपमा गरेका क्रियाकलापहरुको अपडेट गर्न ढिलाई गरेको पनि पाइएको छ । कार्यालय प्रमुख ओझाका अनुसार अपडेट गर्ने काम छिट्टै हुने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!