कृष्ण न्यौपाने | मङ्सिर २४, दमौली | चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि डिभिजन वन कार्यालय तनहुँले भानु नगरपालिका क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयले चितुवाको बानी व्यवहार, क्रियाकलाप र मानिसलाई आक्रमण गर्ने अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको हो । कार्यालयका प्रमुख केदार बरालले चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा दुई बालक र एक बालिकाको मृत्यु भएपछि विद्यालयस्तरमा पुगेर यसबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई जानकारी दिन थालिएको जानकारी दिनुभयो ।

साँझ र बिहानको समयमा गाउँघरमै आई बालबालिकालाई आक्रमण गर्न थालेकाले चितुवाका विषयमा जानकारी गराई सुरक्षित रहने उपायबारे जानकारी गराइएको प्रमुख बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “भानु नगरपालिका–३ स्थित जनजागृति माविबाट सचेतना कार्यक्रम शुरु गरेका छौं, अन्य विद्यालयमा समेत यस खाले कार्यक्रम सञ्चालन गर्छौ ।”

चितुवाले साँझको समयमा बालबालिका आक्रमण गरेको देखिएकाले सो समयमा जोगिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अँध्यारो भएको ठाउँमा र घरको आसपास झाँडी भएको ठाउँबाट यसले आक्रमण गर्ने देखिएकाले घरको आसपास उज्ज्यालो र झाँडी फँडानी गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

चितुवाको लम्बाइ सरदर दुई दशमलव १५ मिटर, उचाइ ६४ देखि ७८ सेन्टिमिटर, तौल ५० देखि ७७ किलोग्रामसम्म हुने प्रमुख बरालले बताउनुभयो । उहाँले चितुवाले जङ्गलभित्रको गुफामा बच्चा जन्माउने, प्रति घण्टा ५८ किमिका दरले दौडनसक्ने, यसको घाँटी, छाती, पेट र पछिल्लो खुट्टाको भित्री भागमा सेतो भूइँमा कालो थोप्ला हुने विद्यार्थीलाई जानकारी गराउनुभयो ।

अझै भेटिएन चितुवा

बालबालिकालाई आक्रमण गर्ने चितुवाको खोजीकार्य जारी रहेपनि त्यसलाई अझै नियन्त्रणमा लिन नसकिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । चितुवालाई नियन्त्रणमा लिन बाख्रा सहितको पासो थापिएको तथा जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी दैनिक खोजीमा लागेपनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको बरालले जानकारी दिनुभयो ।

चितुवाको गतिविधि निगरानीका लागि चारवटा क्यामरा ट्र्यापिङ समेत जडान गरिएको छ । भानु नगरपालिका–३ का वडा अध्यक्ष दलनारायण श्रेष्ठले चितुवा खोज्नका लागि वडाका प्रत्येक घरधुरीबाट एक÷एकजना परिचालित भए पनि चितुवा भेट्न नसकिएको जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जीता लम्साल र मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो । (रासस)

December 10, 2018
तनहुँ - TNH, समाज
तनहुँमा चितुवाको आक्रमणबाट बच्न विद्यार्थीलाई सचेतना
By kit
5 मिनेट पढाइ