पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर २८, कावासोती | नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ ।

नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ ।

‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु तीन हजार प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

“हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई समेटेका थियौँ”, नगर प्रमुख पौडेलले भन्नुभयो, “यसलाई कार्यान्वयनको प्रक्रियामा लाने निर्णय गरेका छौँ ।” नगरपालिका प्रमुख पौडेलका अनुसार सुत्केरी भत्ता लिनका लागि पितौजिघाट स्वास्थ्य चौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी भएको हुनुपर्नेछ ।

सुत्केरी भत्तालाई भत्ताका रुपमा मात्रभन्दा पनि सबैले सुरक्षितरुपमा स्वास्थ्य स्वास्थ्य संस्थामा बच्चा जन्माउन भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।

स्वास्थ्य संस्थामा चारपटक गर्भजा“च र सुत्केरीपश्चात् तीनपटक स्वास्थ्य परीक्षण गर्नेले मात्र यो सुविधा प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

साथै नगरपालिकाले तोकेका स्वास्थ्य संस्थाले उपचारका लागि अन्यत्र सिफारिश गरेमा सुविधा प्राप्त गर्न सकिनेछ । यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुग्ने नगर प्रमुख पौडेले बताउनुभयो । सुत्केरी भत्ता यसअघि नेपाल सरकारले प्रदान गर्दै आएको सुविधाबाहेकको थप सुविधा भएको नगरपालिकाले जनाएको छ ।

न्यानो कपडा प्रदान

नवलपरासी पूर्व पिठौलीमा रहेको वृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको छ ।

पिठौलीमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेका आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई कावासोती–१३, लौखानी निवासी तारानाथ लामिछानेसहित उहा“को परिवारले न्यानो कपडा प्रदान गरेको हो ।

आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई जाडो मौसममा चिसोका कारण स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले सहजता होस् भनेर ‘ब्लाङ्केट’ प्रदान गरिएको लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी गँैडाकोट नगरपालिका बस्ने मिर्गौला पीडित राममाया रानाभाटलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचाररत रानाभाटलाई रानाभाट तथा भाट समाज नेपाल कावासोती र कतारमा रहेका रानाभाटवासीले आर्थिक सहयोग प्रदान गरेका हुन् । रानाभात तथा भाट समाज नेपाल कावासोतीले रु नौ हजार ८०० र कतारबाट सङ्कलित रु ३० हजार गरी ३९ हजार ८०० मिर्गौलापीडित राममाया रानाभाटलाई प्रदान गरिएको रानाभाट तथा भाट समाज नेपाल कावासोतीका अध्यक्ष समर रानाभाटले जानकारी दिनुभयो । रासस