२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदेश २ को नाम र राजधानीबारे दलहरुको आ–आफ्नै प्रस्ताव

२०७५, १७ पुष मंगलवार ०७:४५

राजु विश्वकर्मा | पुस १७, लहान | प्रदेश २ को स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ । 

प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ । 

प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन प्रदेश २ सरकारले कात्तिक ११ गते डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोगसमेत गठन गरेको छ । आयोगले जनस्तरबाटै सुझाब सङ्कलन गर्न थालेपछि यो विषयले थप ब्यापकता पाएको हो । प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको दुई तिहाइले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रदेश २ सरकारले जनताको भावना बुझ्न आयोग गठन गरी सुझाव सङ्कलन गर्न थालेको हो । 

प्रदेश २ को सत्तारुढ सङ्घीय समाजवादी फोरम र राजपासँग सामान्य बहुमत अर्थात ५४ जना सांसद मात्र छ । कुल १०७ सदस्यीय प्रदेशसभामा नेकपाका ३२ र नेपाली काँग्रेसका १९ सांसद छन् । अब काँग्रेस वा नेकपामध्ये कुनै एक दलको समर्थन नभएसम्म सत्तारुढ दलले दुई तिहाइ पु¥याउन नसक्ने स्थिति छ । तर, प्रदेशको नाममा सत्तारुढ र विपक्षीको भिन्न भिन्न मत देखिएको छ । फोरम र राजपा प्रदेशको नाम ‘मधेश’ राख्ने पक्षमा देखिएका छन् भने प्रतिपक्षी नेकपा र काँग्रेस यो नाम कुनै हालतमा स्वीकार नगर्ने अडानमा छन् । 

अहिले रहेको अस्थायी राजधानी जनकपुरलाई नै प्रदेशको स्थायी राजधानी बनाउने सम्भावना बढी छ । शुरुमा वीरगञ्जमा राजधानी राख्न माग गर्दै आन्दोलन गरिएको भए पनि अहिले जनकपुर नै कायम राख्नुपर्ने मत प्रदेशका अधिकाँश जिल्लावासीबाट व्यक्त हुन थालेको छ । 

विपक्षी नेकपाले मिथिला वा जनक तथा काँग्रेसले मिथिला वा मिथिला–भोजपुरा प्रदेश नाम राख्नुपर्ने बताउँदै आएका छन् । सत्तासीन फोरम नेपाल र राजपाले मधेश प्रदेश हुनुपर्ने अडान लिँदै आएका छन् । 

प्रदेश २ सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगले केही दिनअघि सप्तरी र सिरहामा सरोकारवालासँग गरेको छलफलमा अधिकाँश सहभागीले धार्मिक, साँस्कृतिक, पौराणिक, भौगोलिक तथा भौतिक संरचनाका हिसाबले प्रदेशको राजधानी ‘जनकपुर’ उपयुक्त हुने सुझाव दिएका थिए । तर, प्रदेशको नाममा भने फरक फरक धारणा आए । 

मधेशवादी दल निकटका सहभागीहरुले प्रदेश २ को नाम मध्य–मधेश, मधेश राख्नुपर्ने सुझाव राखेका थिए । नेकपा र काँग्रेस निकटकाले राजर्षि जनक, जानकी तथा मिथिला–भोजपुरा प्रदेश राख्दा उपयुक्त हुने बताए । 

“मधेश आन्दोलन मधेश प्रदेशकै लागि भएको थियो,” सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले भन्नुभयो – “आन्दोलनको मर्म बिर्सेर भावनामा बग्ने बेला छैन । विना शर्त मधेश प्रदेशका लागि एक भएर लाग्नु पर्छ ।” 

राजपा पनि मधेशकै पक्षमा देखिएका छन् । राजपा सप्तरी अध्यक्ष मण्डलका संयोजक सतिश कुमार सिंहले मधेश शब्दलाई आफूहरु नछाड्ने दृढता व्यक्त गर्नुहुन्छ । “यत्रो लामो समय आन्दोलन भयो, धेरै जनताले बलिदानी दिए, त्यसलाई कसरी खेर जान दिने ?” उहाँले भन्नुभयो – “त्यसैले मधेश शब्दबाट प्रदेशको नामकरण हुनुपर्छ ।” 

सत्तासीन दलहरुले ‘मधेश’ शब्द राख्नुपर्ने बताइरहँदा विपक्षी नेकपा यो शब्द स्वीकार्न तयार छैन । प्राचीन युगदेखि रहँदै आएको मिथिलाको इतिहासलाई कुनै पनि हालतमा मेटाउन नदिने पक्षमा नेकपा उभिएको देखिन्छ । 

“कुनै हालतमा मधेश स्वीकार्दैनौं,” नेकपाका प्रदेश अध्यक्ष छेदी रजकले भन्नुभयो – “मिथिलाको इतिहास त्रेतायुगदेखि छ, मधेशको इतिहास छैन ।” 

प्रदेशको नाम मिथिला र भाषा मैथिली हुनुपर्ने तर्क उहाँको छ । यो नाममा सहमति नभए मिथिला, भोजपुरा, जानकी या जनक प्रदेशबाट नामकरण गर्न सकिन्छ । 

“‘मधेश’ कसरी मान्ने, कुन आधारमा मान्ने ?,” काँग्रेस नेता राधाकान्त देवले भन्नुुभयो – “सत्तारुढ दलले आन्दोलन गरेकै आधारमा मधेश शब्दबाट प्रदेशको नामकरण गर्न खोजिए गलत हुुन्छ ।” प्रदेश २ मा धार्मिक आस्था बोकेका व्यक्तिहरु बहुसङ्ख्यक भएकाले मिथिला–भोजपुरा प्रदेश बनाउन सकिने उहाँको सुझाव छ । 

प्रदेश २ मा पर्ने आठ जिल्लामा मात्रै मधेश आन्दोलन सीमित नभएको बताउँदै नेकपाका अर्का नेता भगवती यादवले भन्नुभयो – “आन्दोलन गर्दा समग्र मधेश एक प्रदेश माग्ने अनि अहिले आठ जिल्लालाई मात्रै मधेश भन्ने ?” उहाँको विचारमा भाषा मैथिली बनाउन आवश्यक छ । तर, सत्तारुढ दलका नेताहरु भने नेकपा र काँग्रेस सहमतिमा आउने दाबी गर्छन् । मधेशमा आन्दोलन गरेपछि यो प्रदेश प्राप्त भएको दाबी गर्दै सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश मुख्य सचिव शम्भु झा नेकपा र काँग्रेससँग यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । 

काँग्रेससँग धेरै पटक छलफल भइसकेको र नेकपासँग पनि छलफल गर्न लागिएको उहाँको भनाइ छ । 

प्रदेश सरकारद्वारा गठित संवाद तथा सुझाव समितिका संयोजक डा हरिवंश झाले 

आठै जिल्लामा पुगेर राजनीतिक दल, क्षेत्र र स्थानीय जनतासँग छलफल गरी आएका सुझावकै आधारमा सरकारलाई प्रतिवेदन दिने बताउनुहुन्छ । 

प्रदेशको नामकरण र राजधानीको निर्णय गर्न ढिलाइ भइसकेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति कायम गरी नाम र राजधानी टुङ्गयाउनुपर्ने धारणा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली राख्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी