२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

थारूहरुको सबैभन्दा ठूलो पर्व बाँके र बर्दियाका थारू बस्तीमा माघीमय

२०७५, २९ पुष आईतवार ०९:२८

काशीराम शर्मा | पुस २९, बाँके | थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल यहाँ शुरु भइसकेको छ । 

“माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौँ”, वैजनाथ गाउँपालिका–१ चिसापानीकी फूलमती चौधरीले भन्नुभयो । एक महीनाअघिदेखि नै माघीको तयारी गर्ने उक्त समुदायमा अनदी चामलको गुलियो जाँड, रक्सी बनाउनाका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने गरिन्छ । 

पुसको अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यस पर्वमा पुरानो वर्षलाई बिदाइ नयाँ वर्षलाई स्वागत गर्न रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवाहरु बताउँछन् । यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् । 

माघीमा मिठा खानेकुरा खाने र नाचगान गरी रमाउने चलन छ । “माघी पर्वसँगै थारू समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायत कार्यको थालनी हुन्छ”, चिसापानीका राजकुमार चौधरीले भन्नुभयो, “यस दिन बालबालिकादेखि वृद्धवृद्धासम्म आपसी विवाद त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुललगायत परिकार खाने– खुवाउने र नाचगान गरी रमाउँछन् ।” 

माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले यसलाई तामझामका साथ मनाउने गरिएको बाँके टिटिहिरियाका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताउनुभयो । माघीमा आफन्तहरु आउने भएकाले उनीहरुको सत्कारका लागि सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो । 

माघ महीनामा थारू समुदायमा घर फुट्ने, जग्गा अधियाँ लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउने गर्दछन् । माघ १ गतेको बिहान २ बजेदेखि नजिकैको खोला तथा नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने चलन थारू समुदायमा छ । पछिल्लो समय माघी पर्वलाई भव्यरूपमा मनाउन ‘थारू महोत्सव’ समेत आयोजना गर्न समेत थालिएको छ । 

“माघीमा आफन्तहरुको सत्कारका लागि सम्पूर्ण तयारी पूरा गर्नुपर्ने परम्परा रहेकाले त्यसको तयारीसमेत गरिरहेका छौँ । जाँड, रक्सी र घर लिप्नेजस्ता सबै तयारी सकिएकोे छ”, बाँके फत्तेपुरकी फूलमती थारूले भन्नुभयो, “घरमा धेरै आफन्तहरु एकै ठाउँमा जम्मा भएर मनाउने योजना छ ।” 

माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले यसलाई तामझामका साथ मनाउने तयारी गरिएको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारूले बताउनुभयो । 

विदेशमा कमाउन गएका थारू युवा पनि माघी मनाउन घर फर्किएका छन् । सबैतिर माघीको तयारी चलिरहेको स्थानीयवासी हरिप्रसाद चौधरीले बताउनुभयो । “गाउँमा साथीहरु मिलेर रमाइलो गछौैँ”, उहाँले भन्नुभयो, “गाउँमा माघीको रौनकले विगतका पीडा भुलाइदिएको छ । टाढाटाढाबाट आएका साथीभाइको जमघटले निकै रमाइलो भएको छ ।” 

घोँगी बेच्न भ्याइनभ्याई 

माघी पर्व शुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारूलाई अहिले घोँगी किन्नेहरूको फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी प्रयोग तथा मेला, महोत्सवमा बिक्री गर्नका लागि घोँगीको माग अत्याधिक हुन्छ । माघ अधिक भए पनि अत्यधिक चिसोका कारण भनेजस्तो घोँगी भेटाउन नसकिएको उहाँले बताउनुभयो । 

“घोँगी पठाइदिनुपर्यो भन्दै दिनदिनै फोन आइरहन्छ तर पुर्याउनै सकेको छैन”, प्रकाशले भन्नुभयो, “यसपालि भनेजस्तो घोँगी भेटृाउन सकिएको छैन ।” तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आउनुभएका उहाँले आफ्नै तलाउबाट घोँगीको जोहो गर्नुहुन्छ । थारू समुदायमा घोँगीको परिकारलाई विशेष मानिन्छ । स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् । 

होमस्टे तथा रेष्टुरेण्टबाट समेत माग हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको छ । प्रकाशले भन्नुभयो, “तीन वर्षअघि घोँगीको प्रतिकेजी रु ३० मूल्य भएकामा अहिले रु १५० पुगेको छ ।” गाभर होमस्टे सञ्चालक एवं होमस्टे एशोसिएसन प्रदेश नं ५ का सचिव कृष्ण चौधरीले घोँगीको बिक्रीबाट स्थानीयवासीले आम्दानी गर्दै आएको बताउनुभयो । 

स्थानीय गोचाली रेष्टुरेन्टमा घोँगीको परिकार खान आउनेहरुको भीड लाग्छ । सामान्य अवस्थामा पनि दैनिक दुई केजीसम्म घोँगीको परिकार बिक्री हुने गरेको गोचाली रेष्टुरेन्टका सञ्चालक सोम डेमनडेउराले बताउनुभयो । 

सामाजिक सञ्जालमा उस्तै चर्चा 

थारू बस्तीमा माघीको चहलपहल शुरु भएसँगै सामाजिक सञ्जालको फेसबुक, ट्वीटरका वालहरुमा माघीकै चर्चा छ । कसैले ‘माघी महोत्सव’ भनेर प्रचार गरिरहेका छन् भने कसैले ‘माघी मिलन कार्यक्रममा उपस्थितिका लागि’ भनेर आमन्त्रण गरिरहेका छन् । सामाजिक सञ्जालहरु थारू समुदायको महान् पर्व माघीको अवसरमा दिइएका शुभकामना सन्देशहरुले रङ्गिएका छन् । 

थारू समुदायको आफ्नै मौलिक लोकसंस्कृतिको जगेर्ना गर्न सबैलाई एकजुट हुन आग्रह गर्दै फेसबुक वालमा शुभकामना सन्देशहरु आइरहेका छन् । 

थारू अधिकारकर्मी सुशील चौधरीले फेसबुकमा लेख्नुभएको छ, “२०६२÷६३ को परिवर्तनपछि माघी महोत्सवले निरन्तरता पाउँदै आएको छ । खासगरी थारू सघन जिल्ला र बस्तीमा यसलाई सांस्कृतिक उभार मान्नुपर्ला । यस्ता सांस्कृतिक पहलले आर्थिक तथा सामाजिक विकास र सद्भाव वृद्धि एवं पहिचानको सार्थक प्रवद्र्धनका लागि सघाउनुपर्छ ।” 

होमस्टे एशोसियन नेपाल (होसान) प्रदेश नं ५ का सचिव तथा गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालन कृष्णलाल चौधरीले फेसबुक वालमा लेख्नुभएको छ, “माघी एक अनौठो पर्व, सबै नेपालीको महान् पर्व, हरेक गाउँशहरमा माघी मेला र महोत्सव, अब थारू समुदायको मात्र रहेन माघी पर्व । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला