Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

By साझासवाल

सुवास गौतम | फागुन ४, गलकोट | प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ ।

गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए ।

लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान गरेपछि सराङ्कोटको विकल्प बन्नसक्ने प्रतिक्रिया दिए । बिहीबारबाट शुरु भएको प्रथम बलेवा महोत्सवका अवसरमा पोखराको भ्यालीलेक प्याराग्लाइडिङ कम्पनीका पाइलटले प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि उपयुक्त स्थान रहेको बताएका हुन् ।

हावाको गति र मिलेको भूबनोटका कारण बलेवा क्षेत्र प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने पाइलट सागर राउतले बताउनुभयो । समुद्री सतहदेखि एक हजार ७६० मिटरको उचाइमा रहेको बागलुङ नगरपालिका–१३ पैयुँपाटाको पहरेको धुरीबाट उडेका पाँच प्याराग्लाइडिङहरु बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा विमानस्थल नजिकै अवतरण गरिएको पाइलट आकाश क्षेत्रीले बताउनुभयो ।

प्रथम बलेवा महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ रहेको छ । महोत्सवका अवसरमा पर्यटन प्रवद्र्धन गर्ने र पछि व्यावसायिक उडान गर्ने लक्ष्यसाथ प्याराग्लाइडिङ परीक्षण गरी उडान गरिएको महोत्सवको आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताउनुभयो ।

प्याराग्लाइडिङ उड्ने पहरेको धुरीमा धावनमार्गजस्तै मिलेको भूबनोटका कारण उडान गर्न निकै सहज भएको पाइलट सुनुवारले बताउनुभयो । “हामीले प्याराग्लाइडिङको सफल परीक्षणपछि दोस्रो पटक पुनः उडान गरेका छौँ”, सुनुवारले भन्नुभयो, “प्याराग्लाइडिङ उड्ने स्थान निकै उत्कृष्ट लाग्यो ।”

बलेवामा प्याराग्लाइडिङ गर्दा बागलुङ तथा पर्वत क्षेत्रका साथै धवलागिरि माछापुच्छ«ेलगायतका दर्जन बढी हिमशृङ्खला देख्न सकिने भएकाले पर्यटक आकर्षित हुने बागलुङ नगरपालिका– १४ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो । प्याराग्लाइडिङ अवतरण गर्ने स्थान नजिकै बलेवा विमानस्थल भए पनि विमानस्थल बन्द अवस्थामा रहेकाले व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न कुनै समस्या नहुने स्थानीयले बताएका छन् ।

बागलुङको गलकोट क्षेत्रमा पनि यसअगावै प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । अहिले बलेवामा पनि परीक्षण सफल भएपछि बागलुङमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहेको जिल्ला पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

जिल्लाको पर्यटन विकासका लागि प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्याराग्लाइडिङ कम्पनीलाई जिल्ला भित्र्याउन पहल थालिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । बलेवामा प्याराग्लाइडिङ उडान गर्न आएका पाँच पाइलटले नै प्याराग्लाइडिङ उडान र अवतरणमा कुनै पनि समस्या नरहेको भन्दै व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन् । प्याराग्लाइडिङ उडान र अवतरणका लागि विपरीत दिशाबाट हावा लाग्ने स्थान सबैभन्दा उत्कृष्ट स्थान हुने पाइलटको भनाइ छ । रासस